चिनियाँ राष्ट्रपति सी तथा जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता
दुई वर्षसम्म डरलाग्दो वैरभावपछि चीन तथा जापानका नेताबीच सोमबार अवरोध हटाउने खालको शिखर वार्ता भएको छ । यसबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाका साथमा एसिया–प्रशान्त क्षेत्रका नेताहरू एपेकको बैठकका लागि भेला भएका छन् र यहाँ ठूला शक्तिबीचको प्रतिद्वन्द्वमा पनि ध्यान गएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा जापानी प्रधानमन्त्री सिन्जो आबेबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेट भएको छ । यसलाई जापानी प्रधानमन्त्री आबेले विश्वका दोस्रो तथा तेस्रो ठूलो अर्थतन्त्रबीच चर्किएको सम्बन्ध सुधार गर्नेतर्फ पहिलो पाइला भएको बताउनुभएको छ । अमेरिकामा मध्यावधि निर्वाचनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा डेमोक्र्याटबाट पराजित हुनुभएको छ र वासिङटन तथा मस्कोबीचको सम्बन्ध पनि निकै चिसिएको छ । यस अवधिमा राष्ट्रपति ओबामा यहाँ आइपुग्नुभएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन एक दिनअगाडि यहाँ आइपुग्नुभएको हो । उहाँले चीनसँग अझै न्यानो सम्बन्ध राख्ने चाहना देखाउनुभएको छ । गत वर्ष शासनमा पुग्नुभएका चिनियाँ राष्ट्रपतिले आयोजना गर्नुभएको यो हालसम्मको सबैभन्दा ठूलो भेला हो । उहाँले आइतबार एसिया प्रशान्त क्षेत्रका लागि निकै राम्रो भविष्य प्रस्तुत गर्नुभयो । वार्षिक रूपमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग मञ्चको यस्ता दुई दिने शिखर बैठकमा मैत्री तथा व्यापार एकताका लागि बचनवद्धता प्रकट हुन्छ । यसका साथमा यहाँ छुट्टाछुट्टै वार्तामा भूराजनीतिक समस्या समाधान गर्न आदानप्रदान हुनेगर्छ । ऐतिहासिक रूपमा चिसो रहेको बेइजिङ तथा टोकियोबीच सम्बन्ध पूर्वी चीन जलक्षेत्रमा जापानले नियन्त्रण गरेको द्वीप समूहमा प्रतिस्पर्धी दाबीका कारण अझै बिग्रन पुगेको थियो । जापानी प्रधानमन्त्री आबेले आफूले चिनियाँ राष्ट्रपति सीसँग जल क्षेत्रमा द्वन्द्व हुननदिन एउटा प्रत्यक्ष सम्पर्क ‘हटलाइन’ स्थापना गर्न आग्रह गरेको बताउँदै आफूहरूले यस विषयमा ठोस पाइला आरम्भ गर्न काम गर्ने बताउनुभयो । जापानी अधिकारीहरूले भने ३० मिनेटको यस बैठकमा ती द्वीपका विषयमा कुरा नउठेको बताए भनी जापानको क्याडो समाचार संस्थाले उल्लेख गरेको छ । चीनको आधिकारिक सिन्ह्वा समाचार संस्थाले चीन–जापानबीच सम्बन्धमा गत दुई वर्षमा अनेकौँ कठिनाइ उत्पन्न भएको र यी कुराका राम्रा र नराम्रा पक्ष स्पष्ट रहेको अधिकारीहरूले बताए भनी उल्लेख गरेको छ । एपेकले विश्वका ठूला शक्ति वासिङ्टन, बेइजिङ तथा मस्कोबीच प्रतिद्वन्द्वलाई हाल प्रकाशमा ल्याएको छ । पश्चिमी मुलुकले रसियाले युक्रेनको क्राइमिया क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको विरोधमा आर्थिक प्रतिबन्ध लगाएका छन् । यस बैठकका समयमा अमेरिकी राष्ट्रपति ओबामा तथा रसियाली समकक्षी पुटिनबीच वार्ता हुने तय भएको छैन् । अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले मलेसियाली उडान एमएच१७ को विमान दुर्घटनाका विषयमा रसियाली राष्ट्रपतिसँग जम्काभेट गर्ने बताउनुभएको छ । युक्रेनको पूर्वी भागमा जुलाइमा उक्त विमान खसाइएको थियो भने त्यस दुर्घटनामा मरेका २९८ व्यक्तिमा ३८ अस्ट्रेलियाली नागरिक भएको बताइएको छ । पश्चिमी मुलुकले रसिया समर्थित विद्रोहीले उक्त विमान क्षेप्यास्त्र प्रहार गरी खसाएको र मस्कोले यसमा अनुसन्धानमा बाधा उत्पन्न गराएको आरोप लगाएका छन् । रसियाले यी आरोपलाई अस्वीकार गरेको छ । रसिया तथा चीन दुबैले विश्व मामिलामा अमेरिकी प्रभुत्वको विरोध जनाएका छन् । उनीहरू दुबै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा मिलेर अगाडि बढेका छन् र अमेरिकी नेतृत्वको पाइलामा निषेधाधिकार प्रयोग गरेका छन् । रसियाली राष्ट्रपति पुटिनले एपेकका प्रतिनिधिलाई सोमबार रुबल तथा युआन मुद्राको बढ्दो प्रयोगका कारण विश्वको ऊर्जा क्षेत्रमा डलरको प्रभाव कम हुने बताउनुभयो । उहाँले यो विश्वको अर्थतन्त्र, वित्त तथा ऊर्जा बजारका लागि नराम्रो नभएको बताउनुभयो । रसियाली राष्ट्रपति तथा चिनियाँ समकक्षीबीच आइतबार बेइजिङमा भेटवार्ता भयो । चिनियाँ नेताले उहाँलाई मैत्रीसम्बन्धको फल लिन आग्रह गर्नुभयो । चीन तथा अमेरिकाले एसिया–प्रशान्त व्यापार एकीकरणका लागि पृथक दृष्टिकोण अगाडि बढाएका छन् । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति ओबामा तथा चिनियाँ समकक्षीबीच स्पष्ट र गहन वार्ता हुनुपर्ने बताएको छ । आइतबार चिनियाँ राष्ट्रपति सीले एसिया प्रशान्त क्षेत्रका लागि आफ्नो दृष्टिकोणको सपना प्रस्तुत गर्नुभएको थियो ।