वेलकम २० अठारमा सुरज, केन्जल र सागरले तताए मेलबर्न


नेपाल आईडलका मुख्य प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा र केन्जल श्रेष्ठले मेलबर्नमा वेलकम २० अठार कन्सर्टमा आफ्नो प्रस्तुति दिएका छन् । मेलबर्नको क्राउन हलमा आयोजना गरिएको कन्सर्टमा उनीहरुले विभिन्न चर्चित गीतहरु आफ्नै शैलीमा प्रस्तुत गरे । कार्यक्रममा सबैभन्दा पहिले स्टेजमा आएका सुरज थापाले सारङ्गीको तालमा आफुलाई नेपाल आईडलमा चर्चित बनाएको गीत ए बरै… आमैले सोध्लिन खै छोरा भन्लिन् बोलको गीतबाट दर्शकको ताली पाउन सफल भए । यसपछि लोकप्रिय गीतहरुको संगालो उनले पस्कदा दर्शकहरु ताली पिट्दै उनलाई हौस्याउँदै थिए । यसपछि पालो आयो के टाउन एन्जल केन्जल मेहर श्रेष्ठको । उनले रक पारामा आफ्नो प्रस्तुति दिइन् । यस्तै सागर आलेले पनि विभिन्न चर्चित गीतको माध्यमबाट उपस्थित दर्शकलाई नाच्न बाध्य तुल्याएका थिए । उपस्थित दर्शकहरु सबैभन्दा बढी केन्जललाई हुटिङ गरिरहेका थिए । एक चरणको उनीहरुको प्रस्तुति सकिएपछि तीनैजना कलाकार एकै पटक स्टेजमा आएर विभिन्न गीत सामूहिक रुपमा प्रस्तुत गरे । यसलाई उपस्थित दर्शकले निकै रुचाएका थिए । कार्यक्रमपछि डिजे मिस्टा ब्लीङले डीजे सेसन सञ्चालन गरेका थिए । कार्यक्रमपछि प्रतिक्रिया दिँदै गायक सुरज थापाले आफुलाई मेलबर्नमा आउँदा आफ्नो वर्षौंदेखि छुटेका साथीभाईसँग भेट गरेजस्तै अनुभव भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, “छोटो समयका लागि आएको भएपनि एकदमै गाढा माया बस्या जस्तो भएको छ । छुट्टिने बेलामा एकदमै गाह्रो भयो । हामीलाई भोट दिने दर्शकहरुलाई आफैंले भेटेर धन्यवाद भन्न पाउनु पनि ठूलै कुरा हो जस्तो लाग्छ । हामी तीनैजना निकै खुशी छौं । उनको भनाई थियो ।” नेपाल आईडलको यो टोली तास्मानियाको कन्सर्ट सकाएर डार्विन जाने र उतैबाट नेपाल जाने फर्कने तयारीमा छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?