कोरियामा सुरु भयो हिउँदे ओलम्पिक, यस्तो छ अष्ट्रेलियाबाट दिक्षामार्फत नेपाली मनमा जोडिएको खुशी
आज फेब्रुअरी ९ बाट दक्षिण कोरियाको पोङचाङमा हिउँदे ओलम्पिक सुरु भएको छ । यस पटकको ओलम्पिकमा सबैभन्दा बढी चर्चाको विषय उत्तर कोरियाको सहभागिता बनेको छ । आणविक अस्त्रले विश्वलाई नै थर्कमान बनाइरहेको उत्तर कोरियाको यो सहभागिता शान्तितर्फको एउटा पाइला बन्न सकोस् भन्ने धेरैको कामना छ ।तर, अष्ट्रेलियाको नेपाली समूदाय भने अर्को एउटा कारणले पनि थप खुशी बनेको छ । १४ वर्षीय नेपाली दिक्षा रावल अष्ट्रेलियाबाट ओलम्पिक ज्योतिलाई रिले गर्ने टिमको एक सदस्यमा छनोट भएकी छिन् । उनले आफ्नो यो कार्य सम्पन्न गरिसकेकी छिन् तर आज झन् त्यो खुशी ताजा भएको छ । एमएनटीभीसँग कुरा गर्दै न्यूसाउथवेल्सको गोसफोर्डमा बसोबास गर्ने दिक्षा भन्छिन्, “धेरै खुशी लाग्यो । ओलम्पिकको टर्च बोकेर यसको शुभारम्भको तयारी गर्न पाउँदा खुशी लाग्नु स्वाभाविक पनि हो । अझ बढी खुशी त म अष्ट्रेलियाबाट ओलम्पिक टर्च छनोट भएका ५ जनामध्ये एकजना थिएँ । अनि, अष्ट्रेलियाबाट प्रतिनिधित्व गरेपनि मेरो नामसँगै मेरो देशको झण्डा थियो ।” ओलम्पिकको ज्योति बोक्नका लागि उनको छनोटको कथा नेपालको महाविनाशकारी भूकम्पसँग जोडिन्छ । उनले आफ्नो नारारा हाईस्कूलमा भएको एक कार्यक्रममा लेखेको निबन्ध भूकम्पको बारेमा थियो । उनको लेखाईबाट शिक्षकहरु यति धेरै प्रभावित भए कि उनीहरुले दिक्षालाई विशेष ध्यान दिन थालेका थिए । यही क्रममा ओलम्पिकको मुख्य प्रायोजक सामसुङले ओलम्पिक टर्च बोक्ने विश्वभरिका ७ हजार ५ सयमध्ये उनलाई पनि छनोट गरेको थियो । अष्ट्रेलियाबाट छानिएका अन्य चार जना कोही कम्पनीका सिईयो थिए भने कोही कम्पनीका वैज्ञानिक । उनी एकमात्र विद्यार्थी थिइन् । कक्षा ९ मा पढ्दै गरेकी दिक्षा रावल केही दिनअघि सकिएको आफ्नो यो कामपछि यतिबेला अष्ट्रेलिया फर्किसकेकी छिन् । उनी हिउँदे ओलम्पिक आफ्नै घरबाट हेर्नेछिन् । तर, उनले पाएको अपूर्व अवसर नेपाली समूदायको निम्ति गौरवको विषय बनेको छ । यहाँका स्थानीय पत्रपत्रिका र टेलिभिजनहरुले उनको कथासँगै विद्यार्थीका रुपमा यहाँ आएका उनका अभिभावकहरुको कथा पनि प्रस्तुत गरेको थियो । उनका बुबा यज्ञ रावल यो अवसर खुशीको अवसर भएको बताउँछन् । परिवारमात्र होइन यतिबेला पूरै उनीहरु बसोबास गरिरहेको नरारा भ्यालीको अष्ट्रेलियन समूदाय नै दिक्षाप्रति गर्व गरिरहेको छ । फेब्रुअरी २५ तारिखसम्म चल्ने हिउँदे ओलम्पिकको यो तेइसौं संस्करण हो । विभिन्न ९२ देशबाट २ हजार ९ सय ५२ खेलाडीले यस ओलम्पिकमा सहभागिता जनाउँदैछन् ।