पूर्वाधार क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्री सुशील कोइरालाको आह्वान


???????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइराला आर्थिक लगानीका लागि सहज वातावरण बनेकाले पूर्वाधारका क्षेत्र सडक, विमानस्थल र जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ, बहुपक्षीय अन्तर्राष्ट्रिय निकाय र नेपालको विकासका साझेदारको सहयोगमा पहिलो पटक यहाँ आयोजना गरिएको पूर्वाधार सम्मेलनको उद्घाटन गर्दै उहाँले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउनुभो । जलविद्युत्, पर्यटन र पूर्वाधार विकासका लगानीका सम्पूर्ण वातावरण तयार गर्न सरकार प्रतिबद्ध छ भन्दै प्रधानमन्त्रीले नेपालको शान्ति र समृद्धि अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । नेपालको प्रमुख चुनौती गरिबी तथा बेरोजगारी अन्त्य गर्नका लागि ठूला परियोजनामा लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले सबै अप्ठ्यारालाई पन्छाउँदै सरकारले लगानीमैत्री वातावरणको सुनिश्चितता गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री कोइरालाले सन् २०२२ मा नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने लक्ष्यका साथ अगाडि बढेकाले द्रुत राजमार्ग, रेलमार्ग तथा उद्योगका ठूलो लगानी आवश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रजातान्त्रिक संविधान गर्ने तयारीमा छौं, त्यसपछि गतिशील आर्थिक प्रगतिका लागि कडा परिश्रम गरेर देश र जनतालाई समृद्धिको बाटामा अगाडि बढाउने छौँ ।” हालै भारत सरकारसँग भएको विद्युत व्यापार सम्झौता र जिएमआर समूहसँग भएको लगानी विकास सम्झौताले अन्तर्राष्ट्रिय लगानीका लागि ढोका खुलेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अबको समय अन्तर्राष्ट्रिय ठूला लगानीकर्ताका लागि अवसर हो, यहाँ भएका प्राकृतिक स्रोत र साधनको उपयोग गरी समृद्ध नेपाल निर्माणमा सहयोग गर्नुहोस् ।”
तीन दर्जन ऐन संशोधन हुँदै
सो अवसरमा अर्थमन्त्री डा रामशरण महतले लगानीमैत्री वातावरण तयार गर्नका लागि सरकारले तीन दर्जनभन्दा बढी ऐन तथा नियम संशोधन गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले विकासका विविध विधामा निजी क्षेत्रले नै लगानी गर्नुपर्नेमा जोड दिँदै सरकारले सहजीकरणको भूमिका मात्र निर्वाह गर्न भएकाले निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले एकीकृत रूपमा सडक, जल एवम् हवाई यातायातलाई अगाडि बढाउन लागिएको उल्लेख गर्दै पूर्वाधार विकासका लागि द्विपक्षीय तथा विकास साझेदारसँग अगाडि बढ्न नेपाल सरकार तयार रहेकाले सबै क्षेत्रलाई सहयोग गर्न आग्रह गर्नुभयो । भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन जयराम गड्करीले भारतले पूर्वाधार क्षेत्रमा गरेको विकासको अनुभव सुनाउँदै राजनीतिक दलले उच्च मनोबलका साथ जनताका लागि काम गर्छु भन्ने उद्देश्य राख्ने हो भने नेपालले देखेको विकासको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“देश विकासका लागि पूर्वाधार महत्र्वपूण कुरा हो, त्यसका लागि पुँजीभन्दा पनि सरकार तथा राजनीतिक नेताको उच्च मनोबल हुनुपर्छ, समृद्धि सडक हुँदै आउने भएकाले त्यसमा ध्यान दिनुपर्छ ।” नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले नीतिगत रूपमा सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई बढावा दिएर निजी तथा अन्तर्राष्ट्रिय लागनीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । परिसङ्घका निवर्तमान अध्यक्ष विनोद चौधरीले सरकारले लागानीमैत्री वातारण बनाएको अवस्थामा निजी क्षेत्रले जुनसुकै क्षेत्रमा लगानी गर्ने विश्वास दिलाउनुभयो । परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले सम्पूर्ण नेपाली जनताले समृद्ध नेपाल हेर्न चाहेकाले पूर्वाधारको क्षेत्रमा विकास गर्ने वातारण बनाउनका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । आजसम्म चल्ने उक्त सम्मेलनमा पूर्वाधार विकासको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी कम्पनीका ५५० प्रतिनिधि सहभागिता छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?