न्याभ कप क्रिकेटको उपाधि रोयल राइनोजलाई, मल्टिकल्चरल क्रिकेट अप्रिल १४ अप्रिलबाट हुने


भिक्टोरियामा रहेका नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले हरेक वर्ष आयोजना गर्ने न्याभ कपको उपाधि रोयल राईनोज क्रिकेट क्बलले जितेको छ । फाईनल स्पर्धामा प्रतिस्पर्धी हिमालयन हुरिकेन्सलाई पराजित गर्दै उसले उपाधिमाथि पहिलो पटक कब्जा जमाएको हो । पहिलो पटक नै प्रतियोगितामा सहभागी बनेको रोयल राइनोजले ९२ रनको लक्ष्य १२ ओभरमा तीन विकेटको क्षतिमा हासिल गरेको थियो । ७ विकेटले विजयी बनेको प्रतियोगिताको म्यान अफ दि म्याच चिरञ्जीवी न्यौपाने बन्न सफल भए ।
यसैगरी प्रतियोगिताको म्यान अफ दि सिरिज केशव पन्त भए भने बेष्ट बलर अंकीत थापा, बेष्ट व्याट्सम्यान सञ्जोग दाहाल, बेष्ट विकेटकिपर मनिष खकुरेल, वेष्ट फिल्डर कमलेस घिमिरे बन्न सफल भए । प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको थियो । प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन हुनुहुन्थ्यो भने मल्टिकल्चरल क्रिकेटका हुसेन हनिफ, न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, समूदायका अगुवा जोग लिम्बु, न्याभका पूर्वअध्यक्ष बम योञ्जन, एक्सपर्ट ग्रुपका सरोज शर्मा लगायतले विजयीहरुलाई पुस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो । यसैबीच न्याभले आगामी अप्रिल १४ देखि मल्टिकल्चरल क्रिकेट प्रतियोगिता गर्ने भएको छ । १४, १५ र २२ अप्रिलका दिन आयोजना हुने प्रतियोगितामा न्याभ कपको विजेता टिम रोयल राइनोज र दोश्रो तथा तेश्रो स्थान हासिल गर्न सफल हिमालयन क्लब र गोर्खाली क्रिकेट क्लबले सहभागिता जनाउनेछन् । यी तीन टिमसँगै अन्य विभिन्न समूदायबाट थप ५ टिम गरेर कूल ८ टिमको सहभागिता उक्त प्रतियोगितामा रहने जानकारी न्याभ कप क्रिकेट प्रतियोगिता संयोजक सन्तोष बस्ताकोटीले जानकारी दिएका छन् । केही समय अघि क्रिकेट भिक्टोरियासँग भएको सम्झौता अनुसार पहिलो पटक नेपाली क्रिकेट प्रतियोगिताको लाईभ स्कोर अष्ट्रेलियन क्रिकेटको वेवसाईटबाट लाईभ गरिएको थियो । उक्त अवसरमा आगामी ईस्टरको बेला सिड्नीमा आयोजना गर्न लागिएको ओसेनिया स्पोर्टस मिटमा भिक्टोरियाको प्रतिनिधित्व गर्दै सहभागी हुन जाने टिमको समेत घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?