एसिया प्रशान्त शिखर बैठकमा पश्चिमी मुलुक तथा पुटिनबीच द्वन्द्व


putinरसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार युक्रेन सङ्कट तथा उडान एमएच१७ को विमानमाथि प्रहारजस्ता विषयमा पश्चिमी मुलुकको क्रोधको सामना गर्नुभयो भने प्रतिबन्धबाट प्रभावित उहाँको सरकार एक्लो भएको चेतावनी ह्वाइट हाउसले दिएको छ । राष्ट्रपति पुटिनले बेइजिङमा अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटसँग छुट्टाछुट्टै दुईपक्षीय वार्ता गर्नुभयो । प्रधानमन्त्री एबोटले राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेट गर्ने माग गर्नुभएको थियो र यसका लागि उहाँले खेलसम्बन्धी शब्दको प्रयोग गर्नुभएको थियो । मलेसिया एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा पश्चिमी मुलुकले रसियाले युक्रेनमा मस्कोसमर्थित विद्रोहीलाई उपलब्ध गराएको क्षेप्यास्त्रबाट उक्त विमान झारिएको दाबी गरेका छन् भने राष्ट्रपति पुटिनले यस विषयमा पूर्ण तथा पारदर्शी जवाफदेहीका लागि आफू तयार रहेको बताउनुभएको छ । ह्वाइट हाउसले राष्ट्रपति ओबामा तथा रसियाली समकक्षी पुटिनबीच मङ्गलबार एसिया प्रशान्त आर्थिक सहयोग मञ्चका समयमा चिनियाँ राजधानीमा तीनपटक भेट भएको जानकारी दिएको छ । यसै साताको अन्त्यमा प्रधानमन्त्री एबोटले जी२० को बैठक अस्ट्रेलियामा आयोजना गर्नुअगाडि यो शिखर बैठक यहाँ आयोजना गरिएको हो । उहाँहरूबीच वार्तामा इरान, सिरिया तथा युक्रेन पनि समेटिएको जानकारी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता बर्नडेट मिहनले पत्रकारहरूलाई बेइजिङमा बताउनुभयो । इरानको पारमाणविक कार्यक्रमका विषयमा रसिया तथा अमेरिका ‘पीफाइब प्लस वन’ समूहमा संलग्न छन् भने सिरियाको विषयमा मस्को राष्ट्रपति बसार अल–असादका सरकारको प्रमुख समर्थक बनेको छ । सन् २०११ को मार्चमा सिरियामा आरम्भ भएको विद्रोहपछि हालसम्म मस्कोले यो समर्थन कायम गरेको छ । अमेरिका तथा रसियाबीच हाल प्रमुख मतभेद युक्रेनका विषयमा रहेको छ । अक्टोबरको मध्यमा रसियाली राष्ट्रपति पुटिनले अमेरिकी समकक्षी ओबामा रसियाप्रति आक्रमक भएको आरोप लगाउनुभएको थियो । अमेरिकी राष्ट्रपति ओबामाले हालै संयुक्त राष्ट्र सङ्घको महासभामा रसियाले युरोपमा आक्रमण गरेको आरोप लगाउनुभयो । मङ्गलबार अमेरिकी राष्ट्रिय सुरक्षा उपसल्लाहकार बेन रोडेसले पत्रकारहरूलाई आफूहरू रसियाली क्रियाकलापबाट निरन्तर रूपमा समस्यामा परेको बताउँदै उनीहरूले यस्तो कार्य निरन्तर गरे उनीहरू एक्लिने बताउनुभयो । बर्लिन पर्खाल भत्केको पच्चीसौँ वार्षिकोत्सव मनाउँदा सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्वाचेभले विश्व नयाँ शीतयुद्धको सङ्घारमा रहेको चेतावनी दिनुभयो । उडान एमएच१७ को विमान दुर्घटनामा २९८ यात्रुको जीवन गुमेको थियो भने त्यसमा ३८ अस्ट्रेलियाली नागरिक वा त्यहाँका वसिन्दा थिए । अस्ट्रेलियाली प्रधानमन्त्री एबोटले पुटिनसँग ‘‘सर्टफ्रन्ट’’ गर्न चाहनुभएको बताउनुभएको थियो । रसियाली राष्ट्रपति पुटिन तथा एबोटबीच मङ्गलबार बैठकपछि क्रेमलिनले दुई नेताले उक्त दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्ने विषयमा गति दिनुपर्ने पक्षमा बोल्नुभएको जानकारी दिएको छ । प्रधानमन्त्री एबोटको कार्यालयले दुबै नेता एमएच१७ का विषयमा अन्तर्राष्ट्रिय अनुसन्धान अगाडि बढ्नुपर्ने र त्यसलाई सम्बन्धित सबै सूचना उपलब्ध गराइनुपर्ने कुरामा सहमत हुनुभएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । पश्चिमी प्रतिबन्ध तथा तेलको मूल्य घट्नुले रसियाली नेतालाई पछाडि फर्काउनुको सट्टा उहाँ अझै नकारात्मक हुनुभएको देखिएको विशेषज्ञहरूले बताएका छन् । अस्ट्रेलियाको नेसनल युनिभर्सिटीका रणनीतिक अध्ययनका प्राध्यापक ह्युज ह्वाइटले रसिया तथा पश्चिमी मुलुकबीच द्वन्द्व घट्ने कुरामा आफूले आशङ्का गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?