नरेन्द्र मोदीको सिड्नी सम्बोधनको तयारी पूरा भएको आयोजकबाट जानकारी, सार्कका अन्य देशका संगठनहरु पनि स्वागतमा सहभागी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नियमित कार्यतालिकाभन्दा बाहिर पछि तयारी गरिएको सिड्नी सम्बोधनका निम्ति सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । अलफोन्स अरिनामा आगामी सोमबार आयोजना गरिने सांस्कृतिक कार्यक्रमसहितको मोदी सम्बोधन कार्यक्रमको विभिन्न टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रशारण गर्ने जानकारी पनि पत्रकार सम्मेलन गराइएको छ । नेपालसहित पाकिस्तान, बंगलादेशका विभिन्न सामूदायिक संस्थाहरु समेत सहभागी बनेको यस कार्यक्रममा मोदीले साँझ ६ः३० बजेबाट सम्बोधन गर्ने बताइएको छ । मुख्यतः मोदीले यस पटकको आफ्नो सम्बोधनमा अष्ट्रेलियामा भारतीय संस्कृति प्रचार संस्था खोल्ने तथा हिन्दी भाषाको प्रचारका निम्ति के गर्न सकिन्छ भन्ने विषयमा पनि प्रकाश पार्नुहुनेछ । २८ वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले अष्ट्रेलियामा भ्रमण गर्न लागेको यो अवसरमा विश्वमञ्चकै एक सशक्त नेताका रुपमा मोदीलाई स्थापित गर्न सिड्नी सम्बोधन फलदायी हुने विश्वास आयोजकको छ । रोचक कुरा त के छ भने, सिड्नीमा अहिलेसम्म कुनै विदेशी नेताको निम्ति यस किसिमको सम्बोधनको व्यवस्था भएको थिएन जहाँ १६ हजारभन्दा बढी दर्शकहरु उपस्थित हुनेछन् र उनको सम्बोधन विश्वका विभिन्न देशमा हेरिनेछ । मोदी मेलबर्नबाट सिड्नीसम्म विशेष ट्रेनमा आउने जसलाई मोदी एक्सप्रेस नामाकरण गरिनेछ । ट्रेनमा भारतीय सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न गुजराती परिकार पनि पस्कने तयारी भएको छ । यस ट्रेनमा २ सय जना मोदी प्रशंसक मेलबर्नवासी पनि सँगै आउनेछन् जो सिड्नी सम्बोधनमा सहभागी बन्नेछन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार त्यही दिन नै जपानका प्रधानमन्त्री पनि सिड्नीमै हुनेछन् तर उनको भ्रमणलाई लिएर यस्तो उत्साह छैन । मोदीलाई सुन्नका निम्ति ठूलो संख्यामा सिड्नी लगायत अन्य राज्यमा रहेका भारतीयहरु उत्साही देखिएका छन् । अष्ट्रेलियाका सबै राज्यबाट त्यस दिन मोदीको भाषण सुन्नका निम्ति उपस्थिति रहनेछ । साथै, मोदीको स्वागतका निम्ति अष्ट्रेलियाका आदिवासी एबोर्जिनोहरुले पनि विशेष तयारी गरेका छन् । स्टेडियममा आउन चाहने दर्शकको निम्ति सिट उपलब्ध गराउन नसकेपछि आयोजकहरुले अलफोन्स अरिनाको बाहिर पनि ठूला स्क्रिनहरु राख्ने व्यवस्था मिलाएको जनाएका छन् । साँझ ४ः३० बजेदेखि नै कार्यक्रम हुने भएपनि सुरक्षाको जाँचका निम्ति लामो समय लाग्नेहुनाले त्यसै अनुसार तयारी गरेर आउन पनि आयोजकले आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस्
http://mntv.com.au/portal/?p=3244