आज संवाद समितिको बैठक, डा भट्टराई निरन्तर अनौपचारिक परामर्शमा
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगन भए पनि सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन आज पनि अनौपचारिक परामर्श जारी राख्नुभएको छ । औपचारिक बैठक पनि आजै बस्दैछ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग भट्टराईले पटक पटक टेलिफोनमा परामर्श गर्नुभएको थियो । समितिको बैठकअघि काँग्रेस र एमाओवादीबीच प्रधानमन्त्री निवास बालुवाटार तथा एमाले र एमाओवादीबीच राज्यव्यवस्था समितिको बैठक कक्ष सिंहदरबारमा द्विपक्षीय वार्ता हुने कार्यसूचीसमेत तय गरिएको छ । बुधबार डा भट्टराईको स्वास्थ्यमा समस्या देखिएको भन्दै संवाद समितिको बैठक स्थगन गरिएको थियो । समितिको बैठक स्थगन भए पनि विभिन्न तहमा अनौपचारिक संवादलाई भने जारी राखिएको थियो । यसैबीच सभापति डा भट्टराईले धेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारस“ग संविधान निर्माणका विषयमा परामर्श गर्नुभएको छ । विगतका आन्दोलनका उपलब्धिको रक्षा गर्ने गरी सहमतिकै आधारमा संविधान निर्माण गर्न अन्तिमसम्म पनि प्रयत्न गर्नुपर्छ भन्नेमा नै परामर्शमा जोड दिइएको थियो । परामर्श कुन विषयमा भयो भन्ने जिज्ञासामा सभापति डा भट्टराईले भन्नुभयो, “विगतका मधेस आन्दोलन, जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्दै सहमति र सम्झौताकै आधारमा संविधान बनाएर जानु उपयुक्त हुन्छ भन्नेमा नै केन्द्रित रह्यो ।” संवाद समितिको बैठकमा विवादित विषमया सहमति खोज्नाको साटो प्रमुख दलका नेता ‘टसको मस’ नभएपछि सहमति जुट्न सकेको छैन । संवाद समितिको बैठक चलिरहेका बेला एमाओवादी अध्यक्ष दाहाल रोल्पा भ्रमणमा निस्कनुभएको भन्दै काँग्रेस र एमालेले आपत्ति जनाएका छन् । द्विपक्षीय रुपमा छलफल गरेर मात्रै संवाद समितिको बैठक बोलाउने ध्येयका साथ शुक्रबार बैठकको आयोजना गरिएको छ । उक्त बैठकमा विवादित विषयमा सहमति खोज्ने प्रयत्न गरिनेछ । यता सहमति खोज्नाको साटो संवाद समितिमा पेस गरिएको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई बोलाएर वितरण गरिएकामा एमाओवादीले आपत्ति प्रकट गरेको छ ।