काठमाडौंमा मेट्रो सञ्चालन गर्ने लगानी बोर्डको योजना, सुरुमा चार लाईन हुने, उपत्यकाका तीनै जिल्ला छुने


ktm metroतपाईंलाई मेट्रो ट्रेनको बारेमा थाहा होला, नेपाल बाहिर रहेका नेपालीहरुलाई त पक्कै पनि यसको बारेमा थाहा नहुने कुरा भएन । नेपालभित्रका नेपालीले पनि आफन्तहरुबाट यस्तो सेवाको बारेमा सुनेका छन् । कम्तिमा मलेसिया पुगेर आएका नेपालीजनले पनि मेट्रोको स्वाद पाइसकेका छन् चाहे शहरमा होस् नभए विमानस्थलमै किन नहोस् । हो, यस्तै सिटी ट्रेन अब काठमाडौंमा ल्याउने तयारी गरिएको छ । र, केही वर्षभित्रै यो सपना पूरा हुने छाँट छ । काठमाडौँ उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल सञ्जालको विकास गर्न लागिएको लगानी बोर्डले जनाएको छ । राजधानीवासीलाई सरल र सहज रूपमा यात्रा गर्ने वातावरण बनाउने ध्येयका साथ निर्माण गरिने रेल सञ्जालको हाल सम्भाव्यता अध्ययनको काम भइरहेको छ । काठमाडौँ उपत्यकाका तीनवटै सहरलाई मेट्रो सञ्जालमा जोड्ने र भरपर्दो यातायात सुविधा दिने लक्ष्य राखिएको छ । यस्तै चक्रपथभित्र चारवटा रेडियल लाइनका आधारमा रेल सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ । हाल अध्ययन भइरहेको कलङ्की सिनामङ्गलको दूरी ९.३ किलोमिटर, कोटेश्वर गोङ्गबु ९.४ किलोमिटर, सातदोबाटो नारायणगोपाल चोक ११.५ किलोमिटर र बल्खु चाबहिल ८.४ किलोमिटर हुने देखिएको छ । चक्रपथबाहेकको अन्य चारवटै सञ्जालको केन्द्रबिन्दु भने जमललाई बनाइने छ । सकेसम्म काठमाडौँ, भक्तपुर, ललितपुरलाई नै रेल सञ्जालमा जोड्ने गरी अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको काम कोरियाली कम्पनी चुङसुक इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरदेखि गरिरहेको छ । काठमाडौँ मेट्रो नाम दिइएको उक्त रेल सञ्जाल आगामी पाँच वर्षभित्र सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले काठमाडौँ उपत्यकाभित्रको प्रदूषण न्यूनीकरणका लागि मेट्रो अत्यावश्यक रहेको बताउनुभएको थियो । उहाँले काठमाडौँमा बढ्दो जनसङ्ख्याको चापलाई थेग्न र वातावरण प्रदूषण रोक्ने उत्तम विकल्पका रूपमा भूमिगत मेट्रो उत्तम हुने र त्यसका लागि आवश्यक सहयोग गर्नसमेत आग्रह गर्नुभएको थियो । अनुमानित लागत रु पाँच खर्ब ४७ अर्ब लाग्ने मेट्रो निर्माणका लागि विभिन्न विदेशी निर्माणकर्ताले चासो देखाएको छ । हाल उक्त परियोजनाका सम्बन्धमा स्वदेशी लगानीकर्ताको समूह मेट्रो नेपाल प्रालिसँग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश गर्ने विषयका बारेमा छलफल भइरहेको छ । सबै अध्ययन प्रक्रिया सम्पन्न गरेर लगानी जुटाउनका लागि बोर्ड लागिपर्ने कार्यकारी अधिकृत पन्तको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?