प्रिमियर लिग क्रिकेटमा युएईलाई ९४ रनले हराउँदै नेपाल उपविजेता बन्यो
कुबेतमा जारी एसिसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले युएईलाई ९४ रनले पराजित गरेको छ । कुबेतको ट्र्याक मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५० रन बनाएको थियो । दुई सय ५१ रनको लक्ष पछ्याएको युएई ४४.३ ओभरमा १५६ रनमै अलआउट भएको थियो । यो जितसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । उपविजेता बनेसँगै नेपालले सन् २०१६ मा बङ्गलादेशमा हुने यु–१९ विश्वकप खेल्ने सम्भावना कायमै रहेको छ । नेपाललले अब प्ले अफ खेल्नुपर्नेछ । खेलमा नेपालका आरिफ सेखले सर्वाधिक ६० रनको योगदान दिएका थिए । ९६ बलमा ६० रन बनाउने क्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे । सेखलाई शङ्कर रानाले राम्रो साथ दिए । उनले वरुना परेराको बलमा आउट हुनुअघि ४८ रन बनाए । त्यस्तै प्रेम तामाङले ४८ बलमा ४६ रन बनाएका थिए । खेलको अन्त्यमा योगेन्द्र सिंह कार्कीले २८ बलमा ३७ रन बनाए । बलिङतर्फ आस्विन क्रस्टोले ३ तथा योधिन पुन्जाले २ विकेट लिए ।
एसिसी यु–१९ प्रिमियर लिग क्रिकेटमा अफगानिस्तान च्याम्पिन
कुबेतमा जारी एसिसी यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा अफगानिस्तान च्याम्पियन बनेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा कुबेतलाई २०६ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तान च्याम्पियन बन्न सफल भएको हो । पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । दुईसय ७१ रनको लक्ष पछ्याएको कुबेतले १९ दशमलव ५ ओभरमै ६९ रन जोड्दै अलआउट भएको थियो ।