एनआरएनका कार्यकारी निर्देशक राणालाई पुनर्वहाली गर्न श्रम अदालतले पठायो पत्र
गैरआवासीय नेपाली संघमा लामो समय कार्यकारी निर्देशकको पदमा रहेका राजेश राणालाई अदालतले सान्त्वना दिएको छ । उनले श्रम अदालतमा आफुलाई विना कुनै कारण हटाएको भन्दै मुद्दा हालेका थिए । साथै, आफ्नो पारिश्रमिक पाउनुपर्ने, काममा पुनर्वहाली गर्नुपर्ने लगायत उनको माग थियो । राणाले हालेको मुद्दामा फैसला गर्दै पुनर्वहाली गर्नका लागि श्रम अदालतका न्यायाधीश देवेन्द्रराज ढकालले फैसला सुनाएका हुन् । उक्त फैसलाको पूर्ण विवरण उल्लेख गरेर श्रम अदालतले एनआरएनलाई चिठ्ठी पठाएपछि यतिबेला खैलबैला भएको छ । नयाँ अध्यक्ष भवन भट्ट बनेपछि राजेश राणालाई हटाइएको थियो । राजेश राणाको ठाउँमा अर्को व्यक्तिलाई नियुक्त गरिसकेका कारण राणाले सहज रुपमा काम गर्न पाउनेमा भने शंका छ । हद्द भए उनले तलब लिएर बस्नेसम्मको वातावरण हुनसक्छ अन्यथा सर्वोच्च अदालतमा एनआरएनले निर्णयका विरुद्ध पुनरावेदन गर्नुपर्ने हुन्छ । भट्टले कर्मचारीतन्त्रबाट सहयोग पाउन नसक्ने ठान्दै उनलाई हटाएका थिए । राणा लामो समयदेखि एनआरएनमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए ।