काठमाडौंमा अपहरित बालकको हत्या, २ अपहरणकारी प्रहरी ईन्काउन्टरमा मारिए


Photo : Ratopati Team

काठमाडौंबाट आईतबार अपहरण गरिएका एक ११ वर्षीय बालकको अपहरणकारीहरुले हत्या गरेका छन् । स्थानीय काँडाघारीबाट आईतबार मध्यान्ह अपहरण गरेर परिवारबाट ५० लाख रुपैयाँ फिरौती मागिएको थियो । सिन्धुपाल्चोक घर भई हाल काँडाघारीमा बस्दै आएका निशान खड्का अपहरणमा परेका थिए । काठमाडौंको तीनै जिल्लाका प्रहरीले खोजतलास तिव्र पारेको अवस्थामा आज दिउँसो १२ बजे बालक भक्तपुरको सूर्यविनायकमा रहेको एक निर्माणाधीन घरको जगमा मृत अवस्थामा फेला परे ।

Photo : Ratopati Team

उनलाई अपहरणकारीले लामो समयसम्म टेप लगाएर मुख बन्द गरेर राखेका कारण बेहोस् भएको र त्यसपछि घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरेपछि उनीहरुकै बयानका आधारमा अपहरणकारीलाई पछ्याउँदै गएको थियो । प्रहरीले पछ्याउँदै जाँदा अपहरणकारीहरु भक्तपुरको डोलेश्वर महादेव मन्दिर भएको ठाउँतर्फ गएको बेला बिच बाटोमै जम्काभेट हुँदा प्रहरीको कारवाहीमा दुबै अपहरणकारी मारिएको प्रहरीले दावी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेपनि प्रहरीले गोली लागि मृत्यु भएका दुबैजना अपहरणकारी नै भएको दावी गरेको छ । यस विषयमा अनुसन्धान भइरहेकोले धेरै बोल्न नमिल्ने काठमाडौं अपहरण महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले प्रतिक्रिया दिएका छन् । प्रहरीको गोली लागि मृत्यु हुने अपहरणकारीहरुमा अजय तामाङ र गोपाल तामाङ रहेका छन् । अपहरणमा परेर हत्या गरिएका एघार वर्षीय बालकको बुबा वैदेशिक रोजगारीमा गएका छन् भने आमा सामान्य पसल सञ्चालन गरेर बसेकी छिन् । सामान्य परिवारको मान्छेलाई लाखौं फिरौती मागेको घटनाका कारण सर्वसाधारण अचम्ममा परेका छन् । पैसाको लेनदेन वा अन्य घरायसी कारणले अपहरण गरिएको हो कि भन्ने विषयमा यतिबेला अनुसन्धान चलिरहेको छ । काठमाडौंमा दिनदहाडै बालकको अपहरण र त्यसपछि हत्या भएपछि यतिबेला काठमाडौंका बासिन्दा आक्रोशित बनेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?