अपहरणकारीसँग भिडन्तै भएको प्रहरी दाबी, गृहमन्त्रीले भने छानविन हुन्छ
बालकको अपहरण र हत्या गरेका अपराधीलाई भिडन्तको नाममा गोली हानिएको घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापाले चासो व्यक्त गरेका छन् । उनले काँडाघारीको घटनामा के भएको हो भनेर जिज्ञासा राखेका छन् । उनी विदेशमा भएको बेला यता अपहरणको घटना भएको थियो । नेपालमा फर्किएपछि बिहीबार गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित घटनाका सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर बालक अपहरणमा संलग्न भनिएका व्यक्तिहरुको ईन्काउन्टरबारे जानकारी लिएका छन् । गृहमन्त्री थापाले बालकको सकुशल उद्धार हुन नसक्नुको कारण र अपहरणकारी भनिएका व्यक्तिहरुलाई के कति कारणले गोली नै हानेर मार्नुपर्ने अवस्था आयो भनेर जवाफ मागेका थिए । यसको प्रतियुत्तरमा प्रहरी मिहानिरीक्षक सर्वेन्द्र खनालले अपहरणकारीले बच्चाको हत्या गरेर भागेको र खोजी गर्ने क्रममा सूर्यविनायकको जंगलमा भेट्दा उनीहरुले गोली चलाएपछि आत्मरक्षाका लागि आफुहरुले पनि फायर खोलेको जवाफ दिएका थिए । यस विषयलाई लिएर मानव अधिकारवादीहरुले प्रहरीको आलोचना गरेका छन् । तर, सर्वसाधारणले अपहरणकारी भनेर थाहा पाइसकेपछि मारेको नै भएपनि त्यो ठीकै गरकेो भन्ने प्रतिक्रिया दिएका छन् । यस विषयमा परिवारले मानव अधिकार आयोगमा पनि उजुी दिएको छ ।