सुरु भयो ईंग्लीस प्रिमियर लिग, पहिलो दिन भयो यस्तो – लेष्टरविरुद्ध म्यानचेस्टर युनाइटेडको जीत


घरेलु मैदानमा वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराउँदै लिगमा प्रभावशाली सुरुवात गरेको हो ।
नयाँ सिजनको पहिलो खेलमा गएको महिना रुसमा भएको विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सका पउल पोग्बाको कप्तानीमा म्यानचेस्टर युनाइटेड मैदानमा उत्रियो ।पोग्बाले कप्तानी मात्रै गरेनन् । टिमका लागि यो सिजनको पहिलो गोल पनि गरे । उनले तेस्रो मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।
स्पेनिस क्लब बार्सिलोना जाने चर्चा चलिरहेका बेला पोग्बा चार दिनअघि मात्रै युनाइटेडको प्रशिक्षणमा फर्किएका थिए ।खेलको दोस्रो मिनेटमा नै एलेक्स सान्चेजको प्रहार सम्हाल्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको हो । पेनाल्टीमा पोग्बाले गोल गरे । पोग्बाले क्रोएसियासँगको विश्वकप फाइनलमा फ्रान्सका लागि गोल गरेका थिए ।पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले खेलको सात मिनेट बाँकी हुँदा अग्रता दोब्बर पार्‍यो । ८३ औँ मिनेटमा ल्युक शोवले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । आन माटाको एरियल पासलाई उनले गोलमा परिणत गरेका हुन् । लेफ्ट–ब्याक ल्युकको यो सिनियर करिअरमा पहिलो गोल हो । थप खेलाडीको रुपमा मैदान छिरेका जेमी भर्डीले भ्रमण टोली लेस्टरका लागि एक गोल फर्काए । भर्डीले इन्जुरी समयको दोस्रो मिनेटमा रिकार्डो परेराको क्रसलाई गोलमा परिणत गरेका हुन् ।
यो खेलामा पोग्बाले ८४ औँ मिनेटसम्म खेलेका थिए । खेलपछि प्रशिक्षक मोरिन्होले पोग्बाको प्रशंसा गरेका छन् । टिमको नेतृत्व लिएको तथा गोल गरेकोमा आफू निकै खुशी रहेको मोरिन्होले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?