मुलुकमा लोकतन्त्र स्थायी भएपछि विकासको सुनिश्चितता हुने प्रधानमन्त्रीको भनाई, तोकिएकै समयमा संविधान ल्याउने
प्रधानमन्त्री एवम् नेपाल सङ्गीत तथा नाट््य प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक सुशील कोइरालाले मुलुकमा लोकतन्त्रले स्थायित्व पाएसँगै हरेक क्षेत्रले विकासको सुनिश्चितता प्राप्त गर्ने बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट््य प्रज्ञाप्रतिष्ठानको सातौँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र विकासका लागि सरकारले संविधानलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । तोकिएकै समय माघ ८ गतेभित्र संविधान ल्याइने छ, संविधान ल्याउनमा आफूहरू सफल हुनेछाँै, त्यसका लागि सबैले सकारात्मक दृष्टिकोण राख्न आवश्यक छ, पत्रकारबाट पनि दलहरूबीच झगडा फैलाउने काम नहोस्– प्रधानमन्त्री कोइरालाले भन्नुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “समाजका प्रत्येक क्षेत्रमा अभाव नै अभाव रहेको समयमा प्राज्ञहरूको योगदानबाट नेपालको कला र संस्कृतिको रक्षा गर्ने कार्यमा ठूलो उपलब्धि हासिल भएको छ ।”लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई संस्थागत गर्न नसकिएकै कारण आधा शताब्दीभन्दा लामो समयदेखि लोकतन्त्रको गाथाले पूर्णता पाउन नसकेको तथा सङ्घर्ष र आन्दोलनमै समय खर्चनुपरेको प्रधानमन्त्री कोइरालाले उल्लेख गर्नुभयो । जनआन्दोलन २०६२÷६३ बाट गणतन्त्र र सङ्घीयता जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएकाले ती उपलब्धिलाई स्थायित्व प्रदान गर्न तोकिएकै समयसीमा माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । पछिल्लो विद्युत् विकास एवम् व्यापार सम्झोैतामा सम्बन्धमा सहमति भएसँगै नेपालको जलस्रोतको विकासको बाटो खुलेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “त्यसमा तल परेर राष्ट्रलाई आघात पर्ने गरी सम्झौता भएको छैन ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रतिष्ठानका संरक्षक दीपकचन्द्र अमात्यले भाषा, साहित्य, कला, नाट््य तथा गीत–सङ्गीत क्षेत्रको विकास गर्नु राज्यको दायित्व हो, भन्नुभयो । उहाँले भन्नुभयो, “नीति निर्माण, वार्षिक बजेट, विगतको कामको समीक्षा र भावी प्रभावकारी योजना बनाउने मुख्य दायित्व बोकेको प्राज्ञ सभाले आफ्नो काममा सफलता प्राप्त गर्न सफल होस् । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकको ठूलो तागत भनेको विविधताबीचको एकता भएकाले भाषा, सङ्गीत, साहित्य तथा गीत–सङ्गीत र नाट््य विधाका माध्यमबाट सबै जातजाति र भाषाभाषीलाई एकीकृत तुल्याउन सक्नुपर्छ, भन्नुभयो । नेपाल सङ्गीत तथा नाट््य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्त श्रेष्ठले जनआन्दोलनको उपलब्धिका रूपमा प्रतिष्ठानको स्थापनालाई लिइँदै आएकामा अझै पनि भौतिक पूर्वाधार र बजेटको कमीले गतिविधि प्रभावित भएको तीतो यथार्थ भोग्नुपरेको पीडा सुनाउनुभयो । प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपालले सङ्गीत र नाट््य विधाको माध्यमबाट सबैलाई एउटै सूत्रमा बाँध्न सक्नुपर्छ, भन्नुभयो । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकलगायतले राज्यका नीतिनिर्माण तहमा रहेका व्यक्तिले भाषा, साहित्य, नाट्य तथा सङ्गीत क्षेत्रको श्रीवृद्धिका कुरालाई सधैँभरि अनुत्पादक क्षेत्रका रूपमा बुझ्दा यो क्षेत्रको विकासमा बाधा पुगेको धारणा राख्नुभएको थियो ।