मानसिक रोगीलाई बलात्कारी बनाएर हत्यारा लुकाएको भन्दै कञ्चनपुरमा हड्ताल


कञ्चनपुरमा बलात्कारपछि निर्मम हत्या गरिएकी किशोरी निर्मला पन्तको घटनामा प्रहरीले चलाखीपूर्ण रुपमा मानसिक रोगीलाई बलात्कारी प्रमाणित गर्दै पेश गरेको भन्दै आन्दोलन भएको छ । आईतबार निजलाई प्रहरीले सार्वजनिक गरेको थियो । बयानमा आफुले बलात्कार गरेको र घाँटी थिचेर हत्या गरेको निजले स्वीकार गरिसकेका थिए । यसअघि पनि हत्याको अभियोगमा जेलमा परेका दिलिपसिंह विष्टले नै कुकर्म गरेको खुलेको प्रहरीले जनाएको थियो । स्थानीय बासिन्दाले भने घटनालाई अन्तै मोड्न यस्तो गरिएको आरोप लगाएको छ । स्थानीय बासिन्दाले किशोरी कापी लिन गएको घरका केही मानिसहरु शंकास्पद रहेको भन्दै उनीहरुलाई घटनाबारे थाहा भएको यसअघि आरोप लगाउँदै आएका छन् । विरोध प्रदर्शनको क्रममा स्थानीय जिल्ला प्रशासन कार्यालयमा क्षति पुग्ने देखेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ । कञ्चनपुरका डिएसपी ज्ञान सेठीले मुख्य बजार बन्द रहेको र प्रशासन कार्यालयमै आक्रमण गर्न आएपछि प्रतिवाद गरिएको बताए । भीमदत्त बजार बन्द गराइएको छ । राजनीतिक दबाबमा अभियुक्त बचाउन खोजेको आरोप स्थानीयले लगाएका छन् । गत साउन १० गते साथीको घरमा गएकी निर्मला बेपत्ता भएकी थिइन् । भोलिपल्ट उनको शव भेटिएको थियो । सीआईबी टोलीले अनुसन्धन गरी निज विष्टलाई पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?