सशस्त्र प्रहरीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरीरहेको प्रधानमन्त्रीको भनाई, १४ औं सशस्त्र प्रहरी दिवस मनाइयो
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको आन्तरिक द्वन्द्व समाधान गर्ने र सीमा सुरक्षाको जिम्मेवारीसहित स्थापित सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनुभएको छ । १४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले बलले शान्ति कायम गर्न देखाएको भूमिकाको स्वदेशमा मात्र नभई विदेशमा समेत प्रशंसा भएको उल्लेख गर्नु भयो । अन्तर्राष्ट्रियस्तरमा शान्ति कायम गर्ने कार्यमा सशस्त्र प्रहरी बलका राष्ट्रसेवकले देखाएको कार्यकौशलता प्रशंसायोग्य रहेको चर्चा गर्नुहुँदै उहाँले सशस्त्र प्रहरीका परिवारलाई निःशुल्क उपचारको व्यवस्था, ऋण सुविधालगायत कल्याणकारी योजना ल्याएकोमा सराहना गर्नु भयो । अर्को प्रसंगमा प्रधानमन्त्रीले नेपाल परिवर्तनको संघारमा उभिएको बताउँदै नेपाल नयाँ युगका प्रवेश गर्न लागेको र सो युग विकासको युग हुने बताउनु भयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सिर्जनात्मक र सेवामूलक ढङ्गले सशस्त्र प्रहरी बलले गरिरहेका कार्यको सराहना गर्दै शान्ति सुरक्षा कायम गर्न आगामी दिनमा थप क्रियाशील भएर लाग्न आग्रह गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सङ्गठनले स्थापनाको छोटो अवधिमै सीमित स्रोत र साधनका वावजुद शान्ति, सुरक्षा, नागरिकको नैसर्गिक हक अधिकार र मानव अधिकारको पूर्ण रुपमा संरक्षण एवम् सम्बद्र्धन गर्दै आएको चर्चा गर्नु भयो । सो अवसरमा यस वर्षको ‘उत्कृष्ट सीमा सुरक्षा बल रनिङ शिल्ड’ बारा र उत्कृष्ट ‘गण रनिङ शिल्ड पाथिभरा गण’ लखनपुर, झापालाई प्रदान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलको कामकारबाही झल्किने विभिन्न साङ््गीतिक प्रस्तुतिसहित विभिन्न भेषभूषा र राष्ट्रियभावका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।