काँग्रेसका भोलिका पुस्ताका युवा कार्यकर्ताले सोधे, खै कहिले हुन्छ नेविसंघको महाधिवशेन
नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका महाधिवेशन पक्षधर नेताहरूले तत्काल सङ्घको महाधिवेशनको मिति तोक्नुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलन गरी विभिन्न बहाना गरी सातौँ पटकसम्म महाधिवेशन स्थगित गरेको भन्दै आउँदो मङ्सिर ५ गतेसम्ममा महाधिवेशनको मिति तोक्नुपर्ने माग गरेका हुन् । महाधिवेशन पक्षधर विद्यार्थी नेताहरूले मङ्सिर ५ गतेभित्रमा महाधिवेशन गर्नुपर्ने माग गर्दै नेताहरूलाई ज्ञापनपत्र बुझाउने, सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने, काँग्रेस पार्टी कार्यालय र जिल्ला पार्टी कार्यालयमा समेत नारा, जुलुस, धर्ना, अनशनलगायत सङ्घर्षका कार्यक्रम गर्ने घोषणा गरेका छन् । नेविसङ्घका विद्यार्थी नेता पुष्पकुमार शाहले विगत आठ वर्षदेखि नेविसङ्घको निर्वाचन हुन नसकेको अवस्थामा यसको झण्डामुनि आबद्ध भएका लाखौँ विद्यार्थी नेता तथा कार्यकर्ताको व्यक्तित्व र नेतृत्व विकास गर्ने चाहना, भावना र आकाँक्षामाथि तुषारापात भएको छ भन्नुभयो । त्यसैगरी महाधिवेशन गर्नुपर्ने माग गर्दै विभिन्न समयमा अनशन बस्दै आएका नेविसङ्घका केही विद्यार्थी नेताले पनि आज यहाँ अलग्गै पत्रकार सम्मेलन गरी नेविसङ्घभित्र देखिएका समस्यालाई समाधान गरी तत्काल महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको माग गर्दै विद्यार्थी नेताहरू शङ््कर पौडेल, गणेश सापकोटा, रवीन्द्र रोकाय र सुजन अधिकारी केही महिनाअघि नेपाली काँग्रेसको पार्टी केन्द्रीय कर्यालयमा आमरण अनशन बसेका थिए ।