आज मोदीको सिड्नी सम्बोधन, एलफोन्स एरिनामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारियो, मोदीको भाषण यहाँ प्रत्यक्ष हेर्न सकिन्छ, जानकारीसहित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जी २० बैठक लगत्तै सिड्नी आउने कार्यक्रम तय भएको छ । उनी रेलबाट मेलबर्न हुँदै यहाँ आउँदैछन् । सिड्नीमा रहँदा प्रधानमन्त्री मोदीले राजनीतिक तहमा दुईपक्षीय भेटवार्ता समेत गर्नेछन् । योभन्दा पनि महत्वपूर्ण मंगलबार उनले अष्ट्रेलियाको संसदलाई क्यानबेरामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उनले समूदायका प्रतिनिधिहरुलाई सिड्नी सम्बोधन गर्नेछन् । आज साँझ ४ः३० बजेपछि आयोजना गरिएको सिड्नी सम्बोधनमा मोदीले ६ः३० बजे सम्बोधन गर्ने तय भएको छ । आयोजकहरुले भनेका छन्, दुईपक्षीय बैठक लम्बिएन भने तोकिएकै समयमा मोदीले सम्बोधन गर्नुहुनेछ । यस पटकको मोदीको भ्रमणले धेरै रेकर्ड पनि बनाएको छ अष्ट्रेलियामा, पहिलो पटक २८ वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले अष्ट्रेलियाको भ्रमण गरेका हुन् भने यति धेरै व्यक्तिलाई सम्बोधन गर्ने कार्यक्रम गर्ने पहिलो विदेशी नेताको रुपमा पनि उनको नाममा रेकर्ड कायम भएको छ । यसैगरी संसदलाई सम्बोधन गर्ने पनि मोदी पहिलो भारतीय नेता हुन् । अष्ट्रेलियाका केही र भारतीय च्यानलहरुले मोदीको यस पटकको सिड्नी सम्बोधनलाई प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन् । यदि तपाईं पनि मोदीको भाषणलाई प्रत्यक्ष हेर्न चाहनुहुन्छ भने
www.youtube.com/PMvisitaus
मा गएर हेर्न सक्नुहुनेछ । अलफोन्स एरिनामा विहान ११ बजेदेखि नै मोदीका प्रशंसकहरुको भीड लागिसकेको छ । सुरक्षाका कारण प्रवेशमा केही समय लाग्ने भएकोले प्रशंसकहरु चाँडै भित्र पस्न चाहेका छन् । यसैगरी अलफोन्स स्टेडियम बाहिर पनि विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको छ । अष्ट्रेलियाका आदिवासी अर्बोजिनोहरुले समेत आफ्नो शैलीमा मोदीको स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।