एघारबुँदे घोषणापत्र जारी गर्दै जनसार्क सम्मेलन सम्पन्न, शान्तिपूर्ण रुपमा विवाद समाधान गर्न आग्रह


प्रकृति–मानव केन्द्रित जनआन्दोलन नेपाल एकाइद्वारा आयोजित छैटौँ जनसार्क सम्मेलन एघारबुँदे घोषणापत्र सार्वजनिक गर्दै आज सम्पन्न भएको छ । दुईदिनसम्म सञ्चालन गरिएको सो सम्मेलनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जारी घोषणापत्रमा सार्क क्षेत्रभित्र यथाशीघ्र प्रभावकारी रूपमा भाइचारा र ऐक्यबद्धता कायम गरिनुपर्ने, पानीको आदानप्रदान, सीमा विवाद, श्रम समस्या, स्वतन्त्र आन्दोलनलगायत विषयलाई शान्तिपूर्ण रूपमा हल गरिनुपर्ने उल्लेख छ । त्यसैगरी घोषणापत्रमा सार्क क्षेत्रका पिछडिएका, गरिब तथा अपाङ्गका लागि खाद्य सुरक्षा, शुद्ध खानेपानीको व्यवस्था, सरसफाइ र शिक्षाको सुनिश्चितता गरिनुपर्ने, कानुनी राज्यको स्थापना गर्दै सार्क क्षेत्रमा समानता, न्याय, भ्रष्टाचार नियन्त्रण र महिलाको समावेशिता गर्नुपर्ने उल्लेख छ । सो अवसरमा आयोजक संस्थाका महासचिव दीनदयाल रिजालले भन्नुभयो, “सार्क मुलुकबीचको व्यापार घाटा कम गरेर आर्थिक समानता कायम गर्नुपर्ने, संयुक्त राष्ट्र सङ्घमा सबै राष्ट्रलाई विशेषाधिकार हुनुपर्ने, हरितगृह ग्यास उत्सर्जन कम गर्न सबै एक हुनुपर्ने, हानिकारक विषादीको प्रयोगलाई निरुत्साहन गर्ने, आणविकसहित सबै आमविनाशकारी हतियारको प्रयोगलाई निरुत्साहन गर्नेलगाय विषयलाई सम्मेलनले उठान गरेको छ ।” जनआन्दोलन बङ्गलादेश एकाइका अध्यक्ष मुस्तफिर रहमान खान र भारत एकाइका सदस्यद्वय अरुण बनर्जी र इरफान अहमदले शान्तिपूर्वक रूपमा बाँच्न पाउने जनताको अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तन, विधिको शासन, भ्रष्टाचारविहीन समाज, बेरोजगारी समस्यालगायतबारे छलफल गरिएको सो सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र भुटानलगायत देशका प्रतिनिधि सहभागी थिए । मानवीय गतिविधिलाई स्वच्छता र स्वस्थताका साथ विस्तार गर्नुपर्ने ऐतिहासिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै सन् २००२ मा जनआन्दोलन नेपाल एकाइ स्थापना भएको हो । स्थापना भएदेखि १२ वर्षको अवधिमा सो एकाइले विभिन्न मुलुकमा सङ्गठन विस्तार गरी पाँच सार्कस्तरीय सम्मेलन गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?