युएईमा नेपाली युवतीको फाईट, एकजनाको ज्यान गयो चार जना घाइते


मादक पदार्थको नशामा चूर भएर एक युवतीले चार जनामाथि छुरा प्रहार गर्दा एकजनाको ज्यान गएको छ । सामान्य विषयमा मतभेद हुँदैजाँदा स्थिति उग्र बनेको थियो । शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् । छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुलेकोे छैन ।बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए । हत्यामा संल्गन तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ । युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?