एडिलेडमा नेपाली माझ टेनिसको लोकप्रियता बढ्दै
-रमन अधिकारी/एडिलेड
अक्टूबर २८, आइतबारका दिन दोश्रो नेप्लिज टेनिस कप २०१८ सम्पन्न भएको छ । नेपाली राष्ट्रीय गानबाट सुरुवात गरिएको प्रतियोगितामा ३० जना खेलाडीहरु सम्मिलित बिभिन्न समुहमा खेलहरु भएका थिए । १३ बर्ष भन्दा मुनिका केटाकेटीहरुको एउटा खेल खेलाइएको थियो जसमा आभास कँडेलले रिजेस केसीलाइ पराजित गरेका थिए।
सिनियरको डब्बलमा भने राजु केसी र बल्लु भण्डारीको जोडीले प्रवीण गुरागाई र टोप कुमार आलेको जोडीलाई ६-२ र ६-३ को सोझो सेटमा हराई खेल जितेको थियो। स्मरणीय रहोस् यो जोड़ीले गत बर्षको प्रथम नेप्लिज टेनिस कप पनि जितेको थियो। यस्तै स्वरुप शर्माले सिंगलमा टोप कुमार आलेलाई हराई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। भने अर्को तर्फ समुह बी नाम दिएको टिम बीच प्रतिष्पर्धा भएको थियो जसमा सन्तोष चालिसेले ६-२ र ६-३ को सोझो सेटमा भुवन सापकोटालाई हराई बी समुहबाट प्रथम हुन सफल भएका छन्। प्रतियोगितामा बिजय खेलाडीहरुलाई नेप्लिज टेनिस क्लव अष्ट्रलियका अध्यक्ष सुपक अधिकारी, गैरआबासीय नेपाली संघ साउथ अष्ट्रलियाका सहसचिव चन्द्र कुवंर र क्यापकोन होमलोन एडिलेडका अशोक एसीले पुरस्कार बितरण गरेका थिए। प्रतियोगिता विहान ९ बजे देखि बेलुका ७ बजेसम्म चलेको थियो । क्लबका अध्यक्ष सुपक अधिकारीले प्रतियोगितालाई सफल बनाउन सघाउने एनआरएन साउथ अष्ट्रेलिया लगायत एडिलेडमा रहेका सम्पूर्ण संघ संस्थाहरु र व्यक्तिगत रुपमा सहभागी हुनेहरुलाई धन्यवाद दिएका छन् । प्रतियोगितामा खेलाडीहरुको हौसला बढाउनका लागि मेम्बर अफ पार्लियामेन्ट जेन स्टेन्सन र साउथ अष्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत दिपक धमला उपस्थित भएका थिए ।