अपारको अष्ट्रेलिया, बाध्यताले हिन्दी सिकिने देश !
“चारवर्षे पीएचडी सक्दैगर्दा विश्वस्तरको युनिभर्सिटिको राम्रो डिग्री त पाईयो नै, साथमा दक्षिणी छिमेकीको हिन्दी भाषा पनि खरर बोल्न सक्ने भइयो” भारतीय मूलका सुपरभाईजरलाई शोधपत्र बुझाएपछि एक मित्र धाक लगाउँदै थिए ।
नेपालको एनजीओमा राम्रै जागिर खाने अर्का मित्रको दुखेसो अझ रोचक छ । दुईवर्षे स्कलरसीप पाएकी श्रीमतीसँग उनी अष्ट्रेलिया आए । गोराका देशमा गएर खरर अग्रेजी बोल्ने उनको सपना थियो । तर उनी डलर छाप्न अथवा भनौ श्रम गर्न जाने पाँचतारे होटलमा मेनेजरबाहेक अधिकांस दक्षिण एसियाली मूलका थिए र त्यसमा पनि भारतीयहरु बढि । अनि नेपालमा हिन्दी फिल्म हेर्न नरुचाउने उनले पनि “अरे भाई कैसे हो ?” भन्नथाले ।
आफ्नै खर्चमा एक्लै पढ्न आएका अर्का भाईको त व्यथा नै चर्को ! विद्यार्थीले हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम छ अष्ट्रेलियामा । २० घण्टा काम गरेको पैसाले खान बस्न पुगेपनि कलेजको फि तिर्न अरु दुईटा नगदी काम नखोजी हुँदैन । हामी सवैलाई थाहै छ, लुकिछिपि ट्याक्स छलेर नगदीमा काम गर्न गराउन भारतीय वा हामी नेपालीहरु पनि सन्सारभरी प्रख्यातै छौँ ।
ति भाई पनि हरेक दिन नगदीमा भाँडा हान्न सिड्नीमा चल्तिको एक भारतीय रेष्टुरेन्टमा जान्छन् । त्यसैपनि भारतीयहरु दुईजना भेट हुनेवित्तिकै हिन्दीमा कुरा गर्न थालिहाल्छन् । त्यसैले चल्तीको त्यो रेष्टुरेन्टले ति नेपाली भाईको हिन्दी भाषामा उच्च सुधार नगर्ने कुरै भएन । पढाई विग्रिएर भिसा थमौतीका लागि हरेक वर्ष कलेज र विषय परिवर्तन गराईरहन्छन् ति भाई, तर उनी अहिले हिन्दीमा पोख्त छन् । उनी अष्ट्रेलिया आएको चारवर्ष भयो अहिले दक्षिण भरतीयले भन्दा पनि उनले राम्रो हिन्दी बोल्छन् । उनी हाँस्दै भन्छन् के गर्नु भन्न त भएन आफ्नु त अग्रेजी भन्दा पनि हिन्दी हाम्रो छ भन्छन् भारतीय साथीहरुले ।
माथिका तीन उदाहरणले “बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै” भन्ने उखान सम्झाउँछ । अष्ट्रेलिया आउने हरेक नेपालीले काठमाण्डु अन्तर्राष्ट्रिय एअरपोर्टको फोटो हालेर अष्ट्रेलियाको पहिलो धाक लगाउँछन् । त्यसपछि सुरुहुन्छ अष्ट्रेलियाबाट अरु नेपालीलाई लोभ्याउने फोटो देखाउने सिलसिला । सामाजिक सञ्जालमा आफु पढ्ने कलेज वा गर्नुपर्ने दुखको बेलिविस्तार कसैले लगाउँदैन । किनकि त्यो यथार्थले अष्ट्रेलियामा छोरा, छोरी छन् भनेर गर्ब गर्ने नेपाली आफन्त माझ उसको र उसको परिवारको रबाफ कम हुन्छ ।
घरमा आमा, दिदी बहिनीका अघिल्तिर आफुले खाएको थालमा चुठेर हिड्नेले अष्ट्रेलिया आएपछि आफुनै पुरिने डंगूरका डंगुर भाँडा माझ्छन् । नेपालमा भोज भतेरमा मान्छे राखेर भाडाँ मझाउने धनी बाउका छोरा छोरी अष्ट्रेलिया आएपछि भाँडा माझ्ने काम खोज्न भौँतारिन्छन् । घरमा बिहान उठेर सिरक तकिया नमिलाउनेहरु यहाँ होटलका बाथरुम सफा गर्ने र ओछ्यान मिलाउने काम पनि खोजेको बेला नपाएर तड्पिरहेका भेटिन्छन् ।
काम खोज्ने चटारो, लुकिछिपी नगदीमा कर छलेर काम गर्नुपर्ने बाध्यता, अग्रेजीबाहेक चाईनिज, कोरियन, रसियन, लेबनानिज्, फिलिपिनो, इन्डोनेसियनसँग भाषागत सञ्चारमा पर्ने अफ्ठ्यारो अनि अष्ट्रेलियामा नेपालीले चलाएको व्यवसायमा सवै नेपालीलाई काम गर्न नपुग्ने अवस्था छ । त्यहि भएर नेपालमा भारतीयलाई सत्तोसराप गर्ने मान्छे पनि अष्ट्रेलिया आएर बाध्यताले गर्दा भारतीय भाईसँग दोस्ती गाँस्न पुग्छन् ।
अरु पनि केहि यस्ता कुराहरु छन् जसले अष्ट्रेलियामा नेपालीलाई हिन्दी भाषाको नजिक पुर्याउँछ । सुर्तिको तलतल, हिन्दू मन्दिर, नेपालमै बसेको भारतीय उत्पादनको श्वाद, नेपालमै सुनेको हिन्दी भाषा बोल्न सजिलो । अनि नेपाली र भारतीय आ¬आफ्नै श्वार्थले एकअर्काको नजिक आईपुग्छन् । नेपाली सोझा हुन्छन्, राम्रो काम गर्छन्, बिर्याईँ गर्दैन भन्ने आम विश्वास भारतीयलाई छ । किनकी यो बहादुर हो हाम्रो रखवारी गर्छ भनेर भारतमा लाहुरे गएर नेपालीका बाउबाजेले पहिल्यै पहिचान दिईसकेका छन् ।
तर नेपालीको श्रम सजिलो, सस्तो, भरपर्दो र कहिलेकाँहि फोसामा लगाउन सकिने खालको पनि हुन्छ भनेर बुझेका भारतीय सुपरभाईजर वा मेनेजरहरुले नेपालीलाई नगदीमा भाँडा माझ्ने, वा होटलका कोठा सफा गर्ने, खाट मिलाउने काममा विश्वास गर्छन् । सँगै काम गर्ने भएपछि नेपालीले भारतीयसँग हिन्दी भाषा फरर बोल्न सिक्छन् र त्यस्तो बोलाईले काममा सजिलो पनि पार्छ ।
“कलेज पढ्नको लागी स्तरीय अग्रेजी, काम गर्न सजिलो कुराकानीका लागी चाईनिज र हिन्दी राम्ररी जान्ने भएर आउन पाएको भए अष्ट्रेलियामा लाईफ विन्दास हुनेरछ” अष्ट्रेलिया आएर तीनवर्ष भाँडा माझ्दै पढेपछि, अब पीआरको तयारीका लागि अष्ट्रेलियाको कुन गाउँ जाउँ भनेर शोच्दै गरेका एक मित्रले अपारको देश अष्ट्रेलियामा नेपालीले बाध्यताले हिन्दी सिकिने प्रशंगलाई समापन गरिदिए । – अजी अधिकारी