अष्ट्रेलियामा नक्कली लाइसेन्सको खेलो, सक्कली भएमात्रै प्रमाणित !
– अजी अधिकारी/अष्ट्रेलिया
“हेलो ! अँ तपाईले भन्नुभए अनुसार तयार भो । १५ हजार क्यास लिएर सानेपा चोकमा आउनोस्, एउटा भाईले दिन्छ । तपाईलाई सक्कली होलोग्राम नै टाँसेर दिएको छु ।” गाडी चलाउन जानेका तर लाइसेन्स नक्कली लिएर अष्ट्रेलिया आएका एकमित्रले साँझको एक पार्टीमा यस्तो कहानी सुनाएको लगभग एकवर्ष भयो ।
फुल हेलमेट र मुखै नदेखिने गरी मास्क लगाएको केटाले, पल्सर बाइकमा सुट्ट आएर एकैछिनमा नयाँ लाईसेन्स दियो, १५ हजार लियो र टाप कस्यो, उनले बेलिबिस्तारमा सुनाए । अब उनलाई अष्ट्रेलियाको एकथान सक्कली लाईसेन्स नबनाईभएको छैन । उनी गाडी राम्रो चलाउँछन् । अहिलेसम्म कुनै जरिवानामा नपरेको उनको दावी छ । उनी भन्छन् “अब चाँहि पुलिसको ट्रायल राम्ररी पास गरेर सक्कली लाईसेन्स बनाउँछु ।”
“ए, अष्ट्रेलियाको भिसा लाग्यो, अब गाडी यतै सिकेर जानु, लाईसेन्स सकेदेखि सक्कली.. नभएदेखि म भन्दिन्छु, पैसा नि खासै तिर्नु पर्दैन । आजको भोलि नै हुन्छ । अष्ट्रेलिया जानेवित्तिकै गाडी चलाईहाल्नुपर्छ” भिसा लागेपछि नेपालमा अधिकांसले नक्कली नै भएपनि लाईसेन्स बनाउन उक्साउने, यस्तै सल्लाह पाउँछन् । त्यसै अनुसार केहिले कतैपनि रेकर्ड नभएको एकथान लाइसेन्स बनाउँछन् पनि । [quote float=”right” by=”AUSSIE ADHIKARI”]अष्ट्रेलिया यस्तो देश हो जहाँ कानुनको शतप्रतिशत पालनाको अपेक्षा गरिन्छ । सडकमा मोटर गाडी नचलेको बेला पनि सभ्य मान्छेले नियम विपरित बाटो काट्दैनन् ।[/quote]
कार चलाउनु अष्ट्रेलियाको लागि अनिवार्य आवस्यकता हो । तर कार चलाईका कारण मान्छेको ज्यान नजाओस् भनेर सरकारी ट्राफिक नियम नीकै कडा छ । मैले अहिलेसम्म हजार भन्दा बढि जरिवाना तिरिसकेँ भन्ने नेपाली छ्याप्छ्याप्ती भेटिन्छन् यहाँ । अझ क्यानबेरामा एक भुटानी भेटिए उनी भन्दैथिए “सिड्नीबाट मेलबर्न जाँदा बाटो खालि थियो, राम्रैसँग गाडी चलाएँ, अहिले त आठसय चालीस डलर जरिवाना तिर्ने चिठि पो आयो ।
प्रतिघण्टा ११० को स्पीडमा गाडी चलाउनुपर्नेमा ति मित्रले प्रतिघण्टा १७५ का दरले गाडी हुइँक्याएछन् । त्यो प्रमाण पुलिसको क्यापारमा रेकर्ड छ । सिड्नी मेलबर्न बाटोमा पाँचवटा क्यामरामा उनको बढि स्पीड रेकर्ड छ । सरकारी अधिकृतहरु उनलाई जिस्क्याउँदै भन्दैथिए “कार उडाउने सवारी साधन होइन नि त मित्र..” लाइसेन्स रद्ध गर्ने प्रहरीको निर्णयका बिरुद्ध उनी अदालतमा अपिल गर्छु भन्दैथिए ।
अष्ट्रेलिया यस्तो देश हो जहाँ कानुनको शतप्रतिशत पालनाको अपेक्षा गरिन्छ । सडकमा मोटर गाडी नचलेको बेला पनि सभ्य मान्छेले नियम विपरित बाटो काट्दैनन् । ट्राफिक सिग्नलले रोकिन भनेको बेला बाटो काटेको प्रहरी क्यामराले पक्डियो भने एकजना व्यक्तिले ७३ डलर जरिवाना तिर्नुपर्छ ।
रातो बत्तिमा गाडीले इन्टरसेक्सन पार गरे झण्डै साढे चारसय डलर तिर्नुपर्छ । ४० को स्पीड तोकिएको विद्यालय क्षेत्रमा साठीसम्मको स्पीडमा गाडी चलाए तीनसयभन्दा बढि डलर श्वाहा हुन्छ । जरिवाना तिरेर पनि सुख हुँदैन । लाईसेन्सको अंक (प्वाइन्ट) घट्दै गएर लाइसेन्स नै रद्ध हुन्छ । झण्डै १० पटक जरिवानामा परेका एकमित्र सिड्नीमा भेटिए । उनी भन्दैथिए एकवर्ष गाडी चलाउनै पाईएन । पछि फेरि आर्को लाईसेन्स बनाउनु पर्यो । त्यहि भएर अहिले त चेतबाबा भएको छु ।
नेपाली लाइसेन्स नक्कली नै भएपनि यहाँको सडक नियम राम्ररी मानेर गाडी चलाउँदासम्म त केहि हुँदैन । त्यहि भएर “खोई मलाई केहि भएको छैन !” भनेर फुर्ति लगाउनेहरु पनि भेटिनसक्छन् । तर जव कुनै कारणले प्रहरी वा अन्य निकायको सम्पर्कमा पुगिन्छ अनि नक्कली लाइसेन्स धारी व्यक्ति समस्यामा पर्ने पक्का हुन्छ ।
नेपालमा व्यक्तिले भनेको जुनसुकै कुरालाई शंकाको दृष्टिले हेरिन्छ । अष्ट्रेलियामा सामान्यतया मान्छेले साँचो बोल्छ, असल काम गर्छ, कीर्ते गर्दैन भन्ने शोचिन्छ । यहाँ कतिपय कुराहरु आफैँले घोषणा गरेपछि मान्छेले भनेको कुरा हो भनेर व्यक्तिले पत्याईदिन्छन् पनि । तर जव तपाई अलिकति मात्रै पनि गलत भएको पत्ता लाग्दैजान्छ अनि तपाईको सर्वश्व नै सकिन बेर लाग्दैन ।
“नेपाली ड्राईभिङ् लाइसेन्सलाई हामी विभिन्न टुल अर्थात् साधनहरु प्रयोग गरेर त्यसको प्रमाण परिक्षा लिन्छौ । लाईसेन्स प्रमाणित भयोभने अष्ट्रेलियाको ड्रइभिङ् लाइसेन्स लिने सजिलो प्रकृया शुरु हुन्छ” नेपाली कन्सुलेट कार्यालय भिक्टोरियाको छलफलमा नेपाली ड्रइभिङ् लाइसेन्स प्रमाणित गर्ने सन्दर्भमा भिकरोडको औपचारिक भनाई यस्तो थियो । भिकरोड भिक्टोरियाको सवारी चालक अनुमति पत्र दिने तथा रोड नेटवर्क र सुरक्षाका लागि सरकारको तर्फबाट काम गर्ने निकाय हो । [quote float=”right” by=”AUSSIE ADHIKARI”]काठमाण्डूको सडकमा पनि कुनै ट्राफिक नियम लागु हुन्छ र ? उनको प्रश्न सुनेर कार्यक्रममा उपस्थित नेपाली विद्यार्थी तथा अन्य व्यक्तिहरु खिस्स हाँसे ।[/quote]
नेपालीहरु ट्राफिक नियम माछन् कि तोड्छन् ? यो प्रश्न कसैले नसोधिकनै भिक्टोरियाका एक प्रहरी अधिकृतले अचम्मको जवाफ दिए । भिक्टोरिया कन्सुलेटको सार्वजनिक कार्यक्रममै उनले भनिदिए काठमाण्डूमा त ट्राफिक नियम मान्ने भन्दा तोड्ने बढि भेटिँदारछन् । काठमाण्डूको सडकमा पनि कुनै ट्राफिक नियम लागु हुन्छ र ? उनको प्रश्न सुनेर कार्यक्रममा उपस्थित नेपाली विद्यार्थी तथा अन्य व्यक्तिहरु खिस्स हाँसे । भिक्टोरिया प्रहरीका ति अधिकृत केहि समय अघि नेपाल जाँदा काठमाण्डुमा मान्छेले ट्राफिक नियम उल्लंघन गरेको देखेर छक्कै परेका रछन् ।
सक्कली वा नक्कली जुनसुकै होस्, नेपाली लाइसेन्स खल्तीमा राखेर अष्ट्रलियामा गाडी चलाइरहेकाहरुले तत्कालै अष्ट्रेलियाको सक्कली लाइसेन्स बनाउनु सवैभन्दा राम्रो । लाइसेन्स जहाँको भएपनि अष्ट्रेलियामा गाडी चलाउँदा यहाँको नियम पुरै पालना गर्नुपर्छ । सढक दुर्घटनाका कारण हुने जनधनको क्षति कम गर्न अष्ट्रेलियाका हरेक सरकारहरु असाध्यै सजग छन् । नेपाली सक्कली लाइसेन्स बोकेकाहरुलाई अष्ट्रेलियाको सवारी चालक अनुमती पत्र लिनका लागि लाईसेन्सको अग्रेजीकरण लगायतका काममा नेपाली राजदूतावास र विभिन्न शहरका महाबाणिज्य दूतावसहरुले सहयोग गर्छन् ।
[email protected]