मेलबर्नको नेपाल फेष्टिभल परेडमा सन्दिप लामिछाने पनि सहभागी बन्दै !


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद्को आयोजनामा हुन लागेको मेलबर्नको नेपाल फेष्टिभलको सांस्कृतिक परेडमा नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने पनि सहभागी हुने भएका छन् । आगामी डिसेम्बर १० तारिख मेलबर्न आइपुग्ने उनी यहाँको लिग क्रिकेटमा सहभागी हुनेछन् । डिसेम्बर १५ तारिख विहान मेलबर्नको सिटीमा आयोजना हुने नेपाल फेष्टिभल परेडमा उनी सहभागी बन्ने निश्चित भएको हो । उनलाई मेलबर्न स्टार क्रिकेट क्लबले अनुबन्ध गरेको हो । मेलबर्न स्टार क्रिकेट क्लबसँग नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष एवं नेपाल फेष्टिभल परेडका संयोजक तारा गैरेलेले सन्दिपलाई नेपालीहरुको ठूलो कार्यक्रम नेपाल फेष्टिभलमा सहभागी गराउनका लागि लविंग गरेका थिए । मेलबर्न स्टारको स्वीकृतिपछि अब सन्दिप नेपाल फेष्टिभलका साथै अन्य केही नेपाली कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष गैरेले भने, “हामीले सन्दपिसँग यहाँका युवा क्रिकेटरहरुको अन्तरक्रिया गराउने प्रयास गरिरहेका छौं ।” उनले थपे, “नेपाल फेष्टिभलको परेडमा सन्दिप आउने कुरा खुशीको विषय हो । यसले नेपाली क्रिकेटका फ्यानमात्र नभएर सन्दिपको विदेशी फ्यानहरुलाई समेत उनीसँगै हिंड्ने अवसर दिनेछ ।” नेपाल फेष्टिभल मेलबर्नका संयोजक एवं एनआरएनका उपाध्यक्ष केशव कँडेलले सन्दिप लामिछाने नेपालकै गौरव भएका कारण नेपाल फेष्टिभल मेलबर्नको दशौं वर्ष पुगेको यो अवसरलाई अझ विशेष बनाउन उनलाई आमन्त्रण गरिएको बताए । नेपाल फेष्टिभल अष्ट्रेलियाका विभिन्न शहरमा हरेक दुई वर्षमा आयोजना गरिन्छ । नेपालीबीच एकता बढाउन र नेपाली पर्यटन, खाना, संस्कृति, संगीत र सामग्रीहरुको प्रबद्र्धन गर्न नेपाल फेष्टिभल आयोजना हुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?