साँढेमाथि रेड कर्नर नोटिस जारी
नियन्त्रणमा लिन सक्नेलाई २० हजार इनाम
केही वर्षअघि सम्म चलेको जनयुद्धमा थुप्रै नेतामाथि रेड कर्नर नोटिस गरियो । राज्य विध्वंस वा ठूलै नोक्सानी क्षति गर्ने माथि खासमा यस्तो नोटिस जारी गरिन्छ । तर यहाँ उल्लेख गर्न लागिएको रेड कर्नर नोटिसको कुरा कुनै व्यक्तिमा होइन । एउटा गाईको छोरामाथि जारी गरिएको नोटिसको हो ।
जसको जारी कर्ता हुन्, रौटहटको चन्द्रपुर नगरपालिका ४ का वडाध्यक्ष अमर आलेले अस्ति आइतबार साँढेलाई नियन्त्रणमा लिनेलाई २० हजार इनामको घोषणा गरेका हुन् । सडकमा हिँड्ने यात्रुमाथि लगातार आक्रमण गर्न थालेपछि साँढे नियन्त्रणमा लिन उनले सहयोग माग्दै हिँडेका छन् ।
उक्त साँढेले केही दिनदेखि चन्द्रनिगाहपुरको मुख्य चोकमा स्थानीय र बटुवामाथि आक्रमण गर्न थालेको अध्यक्ष आलेले बताए । यसपछि साँढे नियन्त्रणमा लिन भन्दै उनीमाथि दबाब आइरहेको थियो । धेरै प्रयास गरेर पनि साँढे समान्त नसकेपछि पुरस्कारकै घोषणा गर्नु परेको अध्यक्ष आलेले बताए ।
डार्ट प्रयोग गरेरै पनि साँढे नियन्त्रणमा लिन उनले वन कार्यालयलाई समेत अनुरोध गरेका छन् । तर वन कार्यालयले भने बेहोस गर्ने सुई लगाउन नमिल्ने जनाएको छ । तर आले भने जसरी पनि साँढे नियन्त्रणमा लिनु पर्छ नत्र यसले ठूलो क्षति गर्ने तर्क दिन्छन् ।
चन्द्रनिगाहपुरमा दिनहुँजसो साँढे आतंक मच्चिएपछि नगरपालिकाले नियन्त्रणमा लिनु पर्ने दबाब जनमानसबाट आइरहेको छ । सडकमा छाडा छाडिने चौपाया नियन्त्रणमा लिने दायित्व नगरपालिकाको भन्दै स्थानीयले दबाब दिएका छन् ।
साँडेले सोमबार मात्रै चन्द्रपुर ४ का वीरेन्द्र साहको ई–रिक्सामा आक्रमण गर्दा एक महिला र बालक घाइते बनेका थिए । उनीलाई अस्पतालै लग्नु परेको थियो । चन्द्रनिगाहपुरका बिसान्तप्रसाद सुवेदीको हात नै भाँचिएको थियो । यसअघि पनि साँढेले आक्रमणमा रिक्सा सडकमा पल्टिएर बालकसहित २ यात्रु घाइते भएका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।
केही समयअघि पनि स्थानीयले लखेटेर साँढे नियन्त्रण प्रयास गरे पनि सफल भएन । त्यस क्रममा साढे झनै आक्रामक बनेपछि प्रयास नै छाडिएको स्थानीय बासिन्दाको भनाइ छ ।