अमेरिकी राष्ट्रपति ओबामाद्वारा मुलुकमा बढी निष्पक्ष तथा उचित अध्यागमनको बचन
अमेरिकी समस्याग्रस्त अध्यागमन प्रणालीमा सुधार गर्ने बचन दिँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार मुलुकमा बसोबास गरिरहेका र औपचारिक रूपमा दर्ता नभएका ५० लाख आप्रवासीलाई उनीहरूको मुलुकतर्फ फर्काउनबाट सुरक्षा प्रदान गर्ने तथा लुकेर बस्नुको सट्टा स्वतन्त्र रूपमा काम गर्ने अनुमति खोज्नसक्ने बनाउने बचन दिनुभएको छ । राष्ट्रपति ओबामाले गत पाँच वर्षदेखि मुलुकमा बसोबास गरिरहेका, छोराछोरी अमेरिकी नागरिक भएका वा बसोबासको कानुनी स्वीकृति प्राप्त गरेका व्यक्तिले तीन वर्षसम्म अमेरिकामा श्रम अनुमतिका लागि निवेदन दिनसक्ने व्यवस्था गरिने बताउनुभएको छ । उहाँको आदेशको प्रतिरोध गरिने दृढता हाल उहाँप्रति क्रुद्ध भएका रिपब्लिकन आलोचकहरूले गरेका छन् ।सन् २०१२ मा राष्ट्रपति ओबामाले १६ वर्षभन्दा कम उमेरमा अमेरिका आइपुगेका तर कानुनी रूपमा दर्ता नभएका युवा आप्रवासीलाई अस्थायी आवासीय सुविधा प्रदान गर्नुभएको थियो । उहाँको वर्तमान आदेशले उक्त आदेशलाई अझै विस्तार गरेको बताइएको छ । उहाँले आफूसँग राष्ट्रपतिको हैसियतले भएको अधिकार प्रयोग गरी यो आदेश दिएको बताउनुभएको छ । उहाँले यस्तै प्रकारको आदेश पूर्व डेमोक्र्याट तथा रिपब्लिकन राष्ट्रपतिले पनि दिनुभएको बताउनुभएको छ । उहाँले यसबाट अध्यागमन प्रणाली बढी निष्पक्ष तथा उचित हुने बताउनुभयो । राष्ट्रपति ओबामाले यस विषयमा ह्वाइट हाउसबाट प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनमा उल्लेख गर्नुभएको थियो । हाल अमेरिकमामा एक करोड १३ लाख विदेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेका छन् र उनीहरूले प्रायः अमेरिकी नागरिकले गर्न अस्वीकार गर्ने सेवकको काम गर्छन् । यसमा प्रायः मेक्सिको तथा मध्य अमेरिकी मुलुकका नागरिक परेको बताइन्छ । राष्ट्रपति ओबामाको आदेशले यसको ४४ प्रतिशत भाग ओगट्ने अनुमान गरिएको छ । उहाँले अमेरिका कामदारले फल टिपी दिने र बिछ्यौना बनाइदिने तर उनीहरूले कानुन अनुसार अधिकार नपाउने पाखण्डलाई स्वीकार गर्ने मुलुक नभएको बताउनुभयो । उहाँले यस आदेशले कसैलाई पनि अमेरिकी नागरिकता प्रदान नगर्ने, उनीहरूलाई स्थायी रूपमा बसोबास गर्ने अनुमति पनि नदिने र नागरिक सरह उनीहरूलाई फाइदा पनि प्राप्त नहुने बताउनुभयो । उहाँले यी कार्य केबल कङ्ग्रेसले मात्र गर्नसक्ने बताउँदै आफूले यस्ता व्यक्तिलाई उनीहरूको मुलुक फर्काउने काम नगर्ने मात्र भनेको बताउनुभयो । राष्ट्रपति ओबामाको कार्यकारी अधिकारले गैरकानुनी आप्रवासीप्रति नीतिहरूको सञ्जालको स्थानमा अपराधमा दोषी प्रमाणित भएको वा समाजमा खतरा उत्पन्न गराउनसक्ने व्यक्तिलाई उनीहरूको मुलुक फर्काउने नीतितर्फ सङ्क्रमण गराएको छ । ह्वाइट हाउसले आउँदो वसन्तदेखि यस्ता व्यक्तिले आफूलाई स्वदेश फर्कन लगाउनबाट जोगाउन निवेदन दिनसक्ने जानकारी दिएको छ । रिपब्लिकनहरूले आप्रवासीहरूका विषयमा एकपक्षीय रूपमा कारबाही गर्नु गैरकानुनी र असंवैधानिक हुने दाबी गरेका छन् । उनीहरूले यसबाट कानुनी रूपमा दर्ता नभएका लाखौँ व्यक्तिलाई आममाफी दिने दाबी गरेका छन् । राष्ट्रपति ओबामाले संसदका रिपब्लिकनहरू डराएको विषयमा आफूले आवश्यक कारबाही गरेको बताउनुभएको छ । उहाँले आममाफी दिने कार्य अनुचित हुने र आमरूपमा स्वदेश फर्काउने कार्य असम्भव तथा अमेरिकी चरित्रविपरीत हुने बताउनुभयो । उहाँले अमेरिका आप्रवासीप्रति दयाभाव देखाउने शताब्दीयौँको इतिहास भएको मुलुक भएको बताउँदै यस विषयमा जवाफदेहिता देखाउने सामान्य अवधारणा भएको बताउनुभयो । उहाँले कसैले आपराधिक कार्य गरेमा उसलाई उसको मुलुक फर्काइने र कसैले गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गरेमा उसलाई पक्राउ गरिने र फिर्ता पठाइने सम्भावना बढ्ने बताउनुभयो । सन् १९८६ मा रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनले व्यापक आममाफी दिनुभएपछि मुलुकको आप्रवास प्रणालीमा सुधार गर्ने प्रमुख प्रयासहरू असफल भएका छन् । यस विषयमा कङ्ग्रेसमा अवरोधपछि राष्ट्रपति ओबामाले आफ्नो पदावधिको अन्तिम दुई वर्षमा यो कार्य आफैँ गर्ने निर्णय गर्नुभएको छ । उहाँले सन् २००९ को निर्वाचनमा यस विषयलाई उच्च प्राथमिकताको विषय बनाउनुभएको थियो । नयाँ कानुन अनुसार निवेदन दिने व्यक्तिको आपराधिक दाग हुनुहुँदैन, उसले आफ्नो पृष्ठभूमि परीक्षण उत्तीर्ण गर्नुपर्छ र कर तिर्नुपर्छ । यसअघि सन् २०१० को जनवरी १ अगाडि अमेरिका आइपुगेका र १६ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई अस्थायी बसोबासको परिचयपत्र उपलब्ध गराइएको थियो । यसले हाल विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितका क्षेत्रमा कानुनी रूपमा काम गरिरहेका कामदारको बसाइलाई पनि सजिलो बनाउनेछ । नयाँ आप्रवाससम्बन्धी कानुन डेमोक्र्याटको बाहुल्य रहेको सिनेटबाट गत वर्ष पारित भएको थियो तर त्यसलाई हाउस अफ रिप्रिजेन्टेटिभमा नियन्त्रण गर्ने रिपब्लिकनहरूले रोकेका थिए । जनवरी महिनादेखि रिपब्लिकनले संसदको दुवै सभामा नियन्त्रण कायम गर्नेछन् । उनीहरूले यसै महिना भएको निर्वाचनमा ठूलो विजय हासिल गरेका थिए । रिपब्लिकनको तर्फबाट आउँदो सिनेटका बहुमतका प्रमुख मिच म्याकनेलले नयाँ संसदले राजनीतिक कारबाही तय गर्ने बताउनुभयो । रिपब्लिकनको राष्ट्रिय सभाले यस आदेशलाई एक व्यक्तिको कानुन मानेको छ र यसले असंवैधानिक रूपमा आममाफी दिएको दाबी गरेको छ । साथै उसले पार्टीका समर्थकलाई यस सुधारको विरोधमा सङ्घर्ष गर्न पैसा उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्रपति ओबामाको पाइलाले ह्वाइट हाउससँग कङ्ग्रेसको सम्बन्ध अझै बिगार्ने अनुमान गरिएको छ । रिपब्लिकनले राष्ट्रपतिको आदेशलाई रोक्न नसकेपछि उहाँले राजदूत, न्यायाधीश तथा प्रशासनमा गर्ने नियुक्तिमा प्रभाव पार्नसक्नेछन् । यस आदेशका विषयमा सन् २०१६ को निर्वाचनमा व्यापक छलफल हुनेछ । सन् २०१२ को निर्वाचनमा ७० प्रतिशत स्पेनी मूलका मतदाताले ओबामाको पक्षमा मतदान गरेका थिए ।