युक्रेनमा रसियाका ७५ सय सेना छन्– युक्रेनी राष्ट्रपति
युक्रेनको पूर्वी भूभागमा विगत लामो समयदेखि द्वन्द्व जारी छ । सो क्षेत्रमा अहिले पनि रसियाका कम्तीमा पनि सात हजार ५०० सेना रहेका युक्रेनको दाबी रहेको छ । सो कुराको जानकारी युक्रेनका रक्षामन्त्रीले दिनुभएको छ । उहाँले अहिले पनि पुर्वी युक्रेनमा ती सेना रहेका आरोप लगाउनुभएको हो । पूर्वी युक्रेनमा विद्रोहीहरुले सरकारका विरुद्धमा आन्दोलन गरिरहेका छन् । उनीहरुले यसअघि क्रिमियामा भएकोजस्तै आफ्नो क्षेत्रलाई रसियासँग विलय गराउनुपर्ने मागगरी आएका छन् । तर त्यसलाई राष्ट्रमा विखण्डन ल्याउने प्रयासभन्दै युक्रेनको सेनाले उनीहरुका विरुद्ध लड्दै आएको छ । त्यहाँ जारी रहेको छ महिनायतादेखिको विद्रोहका कारण सयौं नागरिक मारिएका छन् । यो दुःखद पक्ष हो कि अझैपनि सो क्षेत्रमा रसियाका सात हजार ५०० जना सैनिक बसिरहेका छन् र हामी स्थायित्वका लागि पहल गरिरहेको भएपनि यो कसरी सम्भव हुन्छ ? ती रसियन सेनाको उपस्थितिले नै हामीलाई स्थायित्व कायम गर्ने काममा अवरोध पु¥याइरहेका छन्– युक्रेनको रक्षामन्त्रालयको वेभसाइटमा उहाँको यो प्रतिक्रिया राखिएको छ । रक्षामन्त्री स्टेप्यान पोल्ट्रयाकले सो क्षेत्रमा युक्रेनले पनि सेनाको सङ्ख्या बढाउन लागेको र सो क्षेत्रमा स्थायित्व कायम गर्ने काममा सरकार दृढ रहेको पनि बताउनुभएको छ । उहाँले सो क्षेत्रमा युक्रेनले चाडै स्थायित्व कायम गर्ने जानकारी पनि दिनुभयो । उहाँले सो क्षेत्रमा स्थायित्वका लागि आवश्यक परेमा नेटो सेनाको पनि सहयोग लिनसक्ने गरी प्रक्रिया अघि बढाइने जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
युक्रेनमा चार सैनिक र एक सर्वसाधारण मारिए
यसैबीच युक्रेनको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्र भएका झडपहरुमा कम्तीमा पनि चारजना सैनिक र एक सर्वसाधारणको ज्यान गएको समाचारमा जनाइएको छ । सो क्षेत्रमा गत २४ घन्टायता झडपहरु जारी रहेका पनि समाचारमा जनाइएको छ । युक्रेनको पूर्वी भागमा युक्रेनी सेना र विद्रोहीबीच हालैका दिनमा झडपहरु बढेका छन् । सो झडपका कारण शुक्रबार अपरान्ह चार जना युक्रेनी सेना मारिएका छन् । विद्रोहीले गरेको आक्रमणमा परी ती सैनिक मारिएका बताइएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सो क्षेत्रमा अरु १० जना सैनिक घाइते भएका पनि बताइएको छ । पूर्वी युक्रेनको लुगान्स्कमा सो हत्या भएको हो । त्यसमा परी एकजना ६० वर्षीय सर्वसाधारण मारिएका पनि समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा गत सेप्टेम्बर महिनादेखि युद्धविराम भएको बताइएको थियो । तरपनि सो क्षेत्रमा झडप भने रोकिएको छैन । युद्धविरामको समयमै पनि सो क्षेत्रमा अहिलेसम्ममा कम्तीमा पनि एक हजार जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघद्वारा हालैमात्र सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ ।