निर्मला पन्तको भजानइल स्वाब र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल मेल खायो


बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भजानइल स्वाब र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल मेल खाएको छ ।

‘भजानइल स्वाब’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो । 

दुर्गादेवीले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको हो ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।

सो रिपोर्टमा भनिएको छ, ‘मृतक निर्मलाको योनीबाट संकलन गरिएका स्वाबहरुबाट तयार पारिएको डीएनए प्रोफाइलको अटो स्वमल एसटीआर दुर्गादेवी पन्तको रगत नमुनाबाट तयार परिएको डीएनए प्रोफाइलसँग मेल खाएको छ ।’

दुर्गादेवीको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मेल खाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।

उनले भने‘जनमानसमा आशंका फैलिएको थियो, त्यसको ‘भेरिफाई’ गर्न मृतकको आमाको ब्लड स्याम्पल हामीले विधिविज्ञान प्रयोगशालामा पठाएको थियौँ । त्यसको रिजल्ट सोमबार आइपुगेको छ । रिपोर्टमा निर्मलाको डीएनए रिपोर्टसँग दुर्गादेवीको डीएनए मेल खाएको भन्ने उल्लेख गरिएको छ ।’

घटनामा प्रमाण मेट्न प्रहरी नै संलग्न रहेपछि निर्मलाको शरीरबाट निकालिएको डीएनएमाथि पीडित परिवार र सर्वसाधारणले शंका व्यक्त गर्दै आएका थिए । उनीहरुले निर्मलाको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न माग गर्दै आएका थिए ।

कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको गत साउन ११ गते विभत्स अवस्थामा शव भेटिएको थियो । घटना घटेको ६ महिना बितिसके पनि अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?