अल्बरी दुर्घटनाका घाइते बलराम पराजुलीको पनि निधन, शव नेपाल पठाउने व्यवस्था गरिँदै
गत बिहीबार अष्ट्रेलियाको अल्बरीमा सडक दुर्घटना परी गम्भीर घाइते भएका बलराम पराजुलीको पनि निधन भएको छ । योसँगै ५ जना सवार उक्त सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । पराजुलीले उक्त गाडी चलाइरहेका थिए भने अघिल्लो सिटमा आर्यन आचार्य रहेका थिए । आर्यन आचार्यको घटनास्थलमै मृत्यु भएको थियो भने पराजुलीलाई उपचारको लागि अल्बरी अस्पताल लगेपछि त्यहाँबाट थप उपचारको आवश्यकता रहेको भन्दै क्यानबेरास्थित अस्पतालमा लगिएको थियो । पराजुलीको निधन मंगलबार साँझ भएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आफ्नो आधिकारिक पेजमार्फत हिजो मंगलबार साँझ उपचार गराइरहेका पराजुलीको निधन भएको जनाएको छ । साथै दूतावासले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । नेपालमा रहेको परिवारका सदस्यहरुसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ । साथै दूतावासले विज्ञप्तिमा स्व. पराजुलीको उपचारमा सहयोग गर्ने अष्ट्रेलियाको प्रहरी, चिकित्सकहरु, क्यानबेरा अस्पतालका सबै कर्मचारीका साथै नेपाली समूदायलाई धन्यवाद दिएको छ ।
यो पनि पढ्नुहोस् :: अष्ट्रेलियामा सडक दुर्घटनाबाट बाँचेका रोशन भेटवालको बयान, ‘ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ https://139.180.165.176/australia-largest-nepali-news-portal/37177/