शान्ति र समृद्धि पहिलो प्राथमिकता हुनुपर्छ – राष्ट्रपति राजापाक्ष
श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाका जनताको समृद्धि र शान्तिपूर्ण दक्षिण एसिया निर्माणका लागि यस क्षेत्रका सरकार र जनताले सामूहिक रुपमा मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति राजापाक्षले दक्षिण एसियामा विद्यमान जलवायु परिवर्तन, प्राकृतिक सम्पदाको अधिकतम् उपयोग, श्रम आप्रवासन, आतङ्कवादजस्ता प्रमुख विषयको सम्बोधनका लागि क्षेत्रीय प्रयासलाई दोब्बर बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दक्षिण एसियाका देशमा रहेका प्रचूर सम्पदा एवम् ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वका स्थानले यस क्षेत्रका जनताबीच गहिरो आत्मियता कायम राखेको भए पनि ओहोरदोहोरमा समस्या खडा गरिएका कारण आमजनतालाई पीडा भइरहेको छ भन्नुभयो । राष्ट्रपति राजापाक्षले भन्नुभयो– “दक्षिण एसियामा करिब एक अर्ब ६० करोड मानिस बसोवास गर्दछन् तर ठूलो सङ्ख्याका जनता गरिबीको रेखामुनि बस्न विवश छन् । विभेद्को यो चरम अवस्थालाई सम्बोधन गर्न गहिरो आर्थिक सहकार्यका निमित्त यहाँका सरकारले ठोस कार्य गर्न जरुरी भइसकेको छ । उहाँले सार्कलाई अझ सान्दर्भिक, अर्थपूर्ण मञ्चका रुपमा स्थापित गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने र उनीहरूको जीवनलाई सरल बनाउने कार्यमा हाम्रा प्रयत्नहरू बढी मात्रामा केन्द्रित हुनु जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो–‘‘हामीले अब बढी नतिजा–उन्मूख कार्यहरूमा ध्यान दिनु आवश्यक छ ।’’ श्रीलङ्काले सन् २००९ मा देशभित्र जारी आतङ्कवादलाई परास्त गरेयता ६ प्रतिशतभन्दा बढीको दरले आर्थिक वृद्धि गरिरहेको चर्चा गर्दै उहाँले यस प्रगतिलाई कायम राख्न र क्षेत्रीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्न पारस्परिक लाभका आधारमा सम्बन्धलाई अझ बढावा दिनु आवश्यक छ भन्नुभयो । राष्ट्रपति राजापाक्षले भारतले सार्कका सदस्य मुलुकको जलवायु परिवर्तन, विपद् र शैक्षिक क्रियाकलापका विषयलाई लक्षित गरी छुट्टै सार्क भू–उपग्रह सेवा उपलब्ध गराउने घोषणा गरेकामा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले दक्षिण एसियामा हवाई सेवा निर्वाधरुपमा सञ्चालन हुनुपर्ने, ऊर्जा विकासमा साझेदारी बढाउनुपर्ने, युवाको सीप विकाससम्बन्धी कार्यक्रमलाई बढावा दिनुपर्ने कुरामा पनि जोड दिनुभयो ।