अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युगेजको २५ वर्षकै उमेरमा निधन, उनको टाउकोमा बल लागेको थियो
अष्ट्रेलियाका टेष्ट व्याट्सम्यान फिल ह्युगेजको २५ वर्षको उमेरमा निधन भएको छ । उनको टाउकोको चोटका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । दुई दिन अघि घरेलु खेलका क्रममा सिड्नीमा उनको टाउकोमा क्रिकेटको बलले लागेको थियो । यसपछि घाइते बनेका उनलाई तत्कालै अस्पताल लगिएको थियो । अष्ट्रेलियन क्रिकेटका कप्तान माईकल क्लार्कले पत्रकार सम्मेलनमा परिवारको तर्फबाट आएको विज्ञप्ति सार्वजनिक गरेका थिए । परिवारको तर्फबाट बोल्दै भाई र बहिनी मेगन र जेसनले भनेका छन्, यो क्षति हाम्रो लागि अपूरणीय छ । हामी यस दुःखद घडीमा हामीलाई साथ दिनुहुने सबैमा आभार वयक्त गर्दछौं । ह्युगेज साउथ अष्ट्रेलियाका निम्ति व्याटिंग गरिरहेका थिए । टाउकोमा बल लाग्ने बत्तिकै उनी भुईमा ढले, उनलाई तत्कालै सेन्ट भिसेन्ट अस्पतालतर्फ लगिएको थियो । करिब ९० मिनेटको अपरेशन पश्चात उनको स्वास्थ्यमा केही सुधार भएन । अस्पतालको तर्फबाट उनी मंगलबारको टाउकोको चोटबाट फेरि होसमा आउनै नसकेको जनाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले पनि समवेदना दिनुभएको छ । फिलिपले अहिलेसम्म २६ वटा टेष्ट म्याच खेलिसकेका छन् ।