कुवेतमा एक नेपाली युवतीले नै गरिन् तनहुँका नेपाली युवाको हत्या
वैदेशिक रोजगारको पीडा नेपाली समाजमा मात्र छैन । विकृति परदेशमा पनि छ । यसैबीच, एक नेपाली युवतीले एक नेपाली युवालाई नै छुरा प्रहार गरी हत्या गरेकी छिन् । घटना कुवेतको हो । कुवेतमा चार वर्षदेखि सँगै बस्दै आएकी एक नेपाली युवतीले युवकको हत्या गरेकी हुन् । नेपाली युवती माया गुरुङले एउटै कोठामा लिभिङ टुगेदारको रुपमा वस्दै आएका नेपाली युवक तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।
उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए । माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएकी थिइन् ।
कुवेतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुशार प्रहरीले माया गुरुङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । विकको शवलाई पोष्टमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ ।
खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ । उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेका हुन् । छुरा प्रहार गर्नुको कारण के थियो भन्ने विषय खुलेको छैन । यद्यपि उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको बताइन्छ । प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ। त्यस घरमा अधिकांश भिसा सकिएपछि पनि अवैध रुपमा वस्दै आएका थिए ।