गीतकार आनन्द राज खनालको गीतिसंग्रह “तिम्रो साथ”को विमोचन
नेपाल टेलिभिजनको झंकार लाईभ शो मार्फत गीतकार आनन्द राज खनालको गीतिसंग्रह “तिम्रो साथ” को विमोचन भएको छ। नेपाल सरकारका पूर्व सचिव तथा निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार प्राध्यापक डा. कृष्णहरि बरालको विषेश आथित्यता साथै वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्काको उपस्थितिमा सो गीती संग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको हो। सोही कार्यक्रममा यसै गीति संग्रहमा आफ्नो स्वर र संगीत दिनुभएका श्रष्टाहरू संगीता राना प्रधान, सरिता मिश्र, आशिष अविरल, भरत सिटौला र बानिका प्रधानको उपस्थिति रहेको थियो । यस गीति संग्रहमा – तिमीलाई मन पराएँ, बोल्न मन लाग्दो रैछ, सम्झनामा नआऊ तिमी (महिला तथा पुरुष आवाजमा),मनै लोभ्याउने गरी ५ वटा गीतहरु समावेश छन् ।
तनहुँ जिल्लाको दमौलीमा जन्मे हुर्केका आनन्द राज खनालले गीत लेख्न थालेको भने धेरै भएको छैन ।करिब दुई वर्ष अघिदेखि मात्र उनको यस क्षेत्रमा प्रवेश भएको हो। प्राध्यापक डाक्टर कृष्ण हरि बराल लिखित –“गीत कसरी लेख्ने” पुस्तक प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा देखेर किनी गीत लेख्न हौसिएका खनालले आशिष अविरलले संगीत गरेको पहिलो गीत “तिमीलाई मन पराएँ” रेकर्ड भए पछि पछाडि फर्केर हेरेनन्।कोर्दै गए। सिक्दै,लेख्दै गर्दा २०० भन्दा बढी गीत रचना गरी सकेका खनालको यो पहिलो गीति संग्रह हो। यस संग्रहमा उनको पूर्ण आस्था र प्रेममा समर्पित गीत देखि वियोग झल्काउने, र अप्ठेरो परिस्थितिमा गरिने प्रेम सम्मका गीत संग्रहित छन् ।कयौं श्रोताले उनका गीतमा आफ्नो अनुभुति समेटिएको अनुभव गरेका छन् । यी गीतका शब्द, संगीत र संगीत संयोजन तथा गायकीबाट यो गीतकारको पहिलो गीति संग्रह हो भनेर पत्यार नलाग्न सक्छ।