सार्कले शान्ति र समृद्धिको सन्देश दिनुपर्ने प्रधानमन्त्री कोइरालाको भनाई
प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसिया क्षेत्रमा शान्ति र समृद्धिका लागि सामूहिक तथा परिणाममुखी कदम चाल्नुर्नेमा जोड दिनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँँ शिखर सम्मेलनको समापन सत्रमा अध्यक्षका हैसियतबाट सम्बोधन गर्दै
उहाँले सफलतापूर्वक सम्मेलन सम्पन्न गर्न पाएकामा प्रशन्नता व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट सम्मेलन सफल बनाउन सघाउने सबैमा प्रशंसा र आभार प्रकट गर्दै सार्कको कार्यसूची अभिवृद्धिका लागि नेपाल अध्यक्ष मुलुकका हैसियतले निरन्तर समन्वय गर्न तयार रहेको विश्वास दिलाउनुभयो । उहाँले विदेश मन्त्रीहरुबाट सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचा (फ्रेमवर्क अफ इनिर्जी कोअपरेसन एण्ड इलेक्ट्रिीसिटी) सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु र काठमाडौँ घोषणापत्र जारी हुनुलाई सम्मेलनको ठूलो सफलता हो भन्नुभयो । प्रधानमन्त्री कोइरालाले सम्मेलनका अवधिमा भएका सम्झौता, छलफल, रिट्रिट कार्यक्रम र अन्य भेटघाटले सदस्य मुलुकका बीचमा आपसी सद्भाव, भाइचारा, एकता र पारस्परिक सम्बन्धमा बढावा मिलेको बताउनुभयो । यस क्षेत्रमा जनस्तरको सम्बन्ध विस्तार तथा आर्थिक विकास एवं व्यापार वृद्धि र समृद्धिका लागि साझा लक्ष्य लिएर सँगसँगै लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री कोइरालाले सार्कको भूमिका यस क्षेत्रमा सामाजिक र विकासमूलक कार्यसूचीलाई अगाडि बढाउन तथा पारस्परिक लाभ बढाउन केन्द्रित हुनुपर्ने भन्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको चाहनाअनुसार सार्कलाई परिणाममुखी बनाउन तथा यस क्षेत्रको विकासका लागि पर्यवेक्षक सदस्यहरुको सहयोग लिएर अघि बढ्ने बताउनुभयो । सार्कको उद्देश्य हासिल गर्न यसलाई गतिशील बनाउन हाल भइरहेका कार्यलाई निरन्तरता दिँदै यसको विद्यमान संयन्त्रलाई अझ प्रभावकारी तुल्याउन आफूले भूमिका निर्वाह गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले के चाहन्छौं र के गरिरहेका छौं भन्नेमा हामी नै जिम्मेवार छौं । अहिलेको परिणाम हाम्रा विगतका गतिविधिले पनि देखाउँछ । अब के गर्ने, समय हाम्रो हातमा छ ।” यस क्षेत्रमा रहेका प्रशस्त स्रोतका सम्भावनालाई ध्यानमा राखेर गरिबी निवारण, कुपोषण, पछौटेपनजस्ता समस्याको समाधान गर्न जोड दिँदै उहाँले यस्ता चुनौतीको सामूहिक सामाना गर्न आब्हान गर्नुभयो । बुद्धको जन्मभूमि नेपालमा सम्मेलन भइरहेको स्मरण गराउँदै उहाँले सार्कले तयार गरेका कार्यसूचीलाई अघि बढाउँदै विश्वमा शान्ति, समृद्धि, सामञ्जस्यता, स्थिरता र धैर्यताको सन्देश दिनुुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी १९ औं शिखर सम्मेलन आयोजनाको जिम्मेवारी लिएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफप्रति आभार पनि व्यक्त गर्नुभयो ।