सकियो काठमाडौंमा अठारौँ सार्क शिखर सम्मेलन, अब पाकिस्तानमाा भेट्ने बाचासहित छुटे शक्तिशाली कार्यकारी प्रमुखहरु
‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच शिखर सम्मेलन समापन गर्नुभएको थियो । समापन समारोहमा भाग लिन आठै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधि सहभागी हुनुभएको थियो । यसैगरी नेपालका संवैधानिक निकायका प्रमुख र राजनीतिक दलका नेता पनि सम्मेलनमा सहभागी हुनुहुन्थ्यो । सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री कोइरालाले सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गर्नुभएको थियो । समापन समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्यरुपमा आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद दिनुभयो । उहाँले सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने अवसर पाकिस्तानलाई प्राप्त भएकामा खुसी व्यक्त गर्दै पाकिस्तानमा पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको बताउनुभयो । काठमाडाँै घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।
ऊर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर
यसैबीच, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँँ शिखर सम्मेलनको समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतमा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सदस्य मुलुकका वैदेशिक÷बाह्य मामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो । अफगानिस्तानका कामु विदेशमन्त्री जरार अहमद ओसमानी, बङ्गलादेशका विदेशमन्त्री अब्दुल हसन महमुद अली, भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी, भारतका बाह्य मामिलामन्त्री श्रीमती सुषमा स्वराज, माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिज र श्रीलङ्काका बाह्य मामिलामन्त्री प्रा गामिनी लक्ष्मण पेइरिस र नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको हो । अर्को सम्मेलन पाकिस्तानमा हुनेछ ।