पाँचथरमा ९ जनाको विभत्स हत्या, घरज्वाई बस्न करकर गर्दा घटना भएको आशंका
पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ।
धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको हो । हत्या भएकाहरुको शव विभत्स अवस्थामा घर बारिह र भित्र छरिएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।
हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक,३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइएको छ ।
हत्याको घटनाले देश नै शोकमा डुबेका बेला मंगलबार मध्याह्न अर्को खबर आयो– मिक्लाजुङकै ८ नम्बर वडामा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला परे ।
प्रहरी टोली त्यतैतर्फ सोझियो । पछि थाहा भयो झुण्डिएको अवस्थामा मृत भेटिएका व्यक्ति गएराति विभत्स ढंगले हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम थिए ।
यो घटना हत्याकाण्डसँग पारिवारिक रूपमा जोडिएपछि सबैको ध्यान मानबहादुरतिरै सोझिएको छ । मानबहादुर पछिल्लो समय श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा थिए । उनका नजिकका आफन्तहरुका अनुसार मानबहादुरकी श्रीमतीले आफ्नो माईतीमा कोही दाजुभाई नभएकोले मानबहादुरलाई नै घरज्वाईँ बस्न आग्रह गर्दै आएकी थिइन् । तर, उनले मानेका थिएनन् । यसैकारण रिसईवी बढेको आशंका छ ।