दशककै शक्तिशाली हुरी र असिना वर्षातले ब्रिसबेनमा १ सय मिलियन डलरको क्षति, अझै ५० हजार घरमा विजुली छैन
क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्रमा आएको दशककै ठूलो आँधीका कारण लाखौं डलरको क्षति भएको छ । आँधी १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो भने सँगै ठूला ठूला असिना पनि परेका थिए । जसका कारण क्षति अझ बढ्न गएको थियो । यतिबेला सरकारले सफाईका निम्ति सेना परिचालन गर्ने निर्णय गरेको छ । आँधीका कारण हजारौं स्थानीयहरुले विजुलीविना नै रात कटाउनु परेको छ भने यातायातका साधनहरुमा क्षति पुगेको छ । अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । घटनामा १२ जना घाइते भएको बताइएको छ । ब्रिसबेनको मुख्य केन्द्रसहित अन्य ठाउँको क्षतिको विवरण संकलन भइरहेको छ, यो १ सय मिलियन डलरभन्दा बढी हुने अनुमान छ । राष्ट्रिय बिमा परिषद्ले कम्तिमा पनि ३ हजार क्षतिको दाबी अहिलेसम्म दर्ज गराइसकेको छ । जसमा २५ मिलियन डलरको दाबी गरिएको छ । गर्मीको यो मौसममा पनि यस किसिमको आँधी, हावाहुरी र साथै असिना पर्नाले धेरै अचम्मित बनेका छन् । यतिबेला सरकारी तवरमा विद्युत सुचारु गर्ने प्रयत्न जारी छ र १ सय २० जना कर्मचारी यसैमा खटिएका छन् । गएराति नै ४० हजार घरमा विद्युत पुनः सुचारु भइसकेको छ । अझै ५० हजार घरमा विजुली पुग्ने व्यवस्था गर्न लागिएको छ ।