पूर्वमन्त्रीका छोरा एवं टेलिभिजनका पूर्वसञ्चालक युनुस अन्सारी करिब ८ करोड नक्कली भारुसहित पक्राउ !


नेपालको बाटो हुँदै भारत लैजानका लागि काठमाडौं ल्याइएको करिब ८ करोड भारतीय रुपैयाँसहित पूर्वमन्त्रीका छोरा युनुस अन्सारी पक्राउ परेका छन् । विमानस्थलमा पुगेर अवैध नक्कली रकम रिसिभ गर्न पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट बरामद गरिएको रकम ७ करोड ६७ लाख ९४ हजार रहेको खुलेको छ । प्रहरीले विमानस्थलबाट अन्सारीसहित तीन पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेमा पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर रहेका छन् । उनीहरुले दुईवटा सुटकेसमा रकम ल्याएका थिए । 
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विदेशबाट आएका तीनजना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न जाँदा युनुस अन्सारी समेत पक्राउ परेका थिए ।
अन्सारी नेपालमा बसेर भारतीय नक्कली नोटको कारोबार गर्ने व्यक्तिका रुपमा कुख्यात छन् । उनी यसअघि पनि पटक पटक पक्राउ पर्ने गरेका थिए । तर, जेलबाट बाहिर आउने वित्तिकै फेरि यही धन्दामा उनी सक्रिय भएको देखिएको छ । प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० गते ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।अन्सारीमाथि केन्द्रीय कारागारमा रहँदा गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए । त्यसअघि उनी साझेदारको रुपमा एभिन्यूज टेलिभिजनमा पनि रहेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?