मेलबर्नमा नेपाली सामूदायिक केन्द्रको फड्को, १५ लाख डलरमा घरसहितको जग्गा किन्ने तयारी
अष्ट्रेलियाको मेलबर्नमा बनाउन लागिएको नेपाली सामूदायिक केन्द्रको लागि घरसहितको जग्गा किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । करिब एक सयभन्दा बढी ठाउँहरुमा गरिएको खोज र अनुसन्धानपछि यो जग्गा किन्ने अन्तिम निर्णय गरिएको हो । जग्गा किन्नका लागि बनाइएको साईट सेलेक्सन कमिटीका संयोजक समेत रहेका संस्थाका अध्यक्ष डा. चन्द्रदिपक पोखरेलका अनुसार यो जग्गा मेलबर्न सिटीबाट मात्र ३३ किलोमिटरको दूरीमा छ भने मेलबर्नमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने ग्लेनरोयबाट २४ किलोमिटरमा पर्छ । हाल अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको कोषमा जम्मा भइसकेको र दिने प्रतिबद्धता गरिएको रकम १४ लाख डलर छ भने जग्गा खरिद गर्नका लागि थप २ लाख डलर आवश्यक हुनेछ । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष डा. पोखरेलले भने, “स्ट्याम्प ड्युटी लगायत गरेर १६ लाख पर्न जाने देखिएको छ । हामीसँग ६ महिनाको समय छ ।”
खरिद गर्न लागिएको घरसहितको जग्गा १५ एकडमा फैलिएको छ । अहिले नै भएको संरचनामा मर्मत गरेर तत्कालै केन्द्र सञ्चालन गर्न समेत सकिने र २ सय जनासम्म अट्ने प्रार्थना कक्ष पनि बनाउन सकिने देखिएको छ । यद्यपि यसका लागि मन्दिर बनाउने, यहाँ विभिन्न कार्यक्रम गर्ने लगायतका लागि पूर्वस्वीकृति लिनुपर्नेछ । (जग्गा सम्बन्धी थप जानकारीको लागि फोटोमा क्लीक गर्नुहोस् )
अध्यक्ष डा. पोखरेलले अगाडि थपे, “यो पक्कै पनि हामी भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि ऐतिहासिक क्षण हो । जग्गा खोज्ने कार्यमा सहभागी हुने सहित सम्पूर्ण सदस्यहरु बधाईको पात्र हुनुहुन्छ । उहाँहरुको धैर्य, विश्वास र सहयोगले नै यो सफलता मिल्न सकेको हो ।”
भर्खरै विशेष साधारणसभा सम्पन्न गरेको अष्ट्रेलियन नेप्लीजन कम्युनिटी सेन्टरले सदस्यता मार्फत रकम संकलन गरेको थियो । सामूदायिक केन्द्र बनाउनकै लागि अघिल्लो वर्ष पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा सप्ताह समेत आयोजना गरिएको थियो । जसमा सहयोग रकम जुट्नुका साथै सदस्य संख्या पनि बढेको थियो । अध्यक्ष डा. पोखरेलले सदस्य बन्न बाँकी रहेका भिक्टोरियावासी नेपालीलाई सदस्य बनेर यो ऐतिहासिक कडीमा जोडिन अनुरोध गरेका छन् ।