जनकपुरमा बाउन्न फिट लामो धनुष हेर्न आकर्षण बढ्दो, जनक दरबार निर्माण गर्ने दाबी
धार्मिक एवम् ऐतिहासिक स्थलका रूपमा रहेको शिवगढी बाह्र विघामा आयोजना गरिएको धनुषा यज्ञ हेर्नका लागि अहिले भक्तजनको भीड लाग्ने गरेको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा आयोजना गरिएको सो धनुषा यज्ञ हेर्नका लागि अहिले श्रद्धालु आउने गरेका छन् । श्रद्धालुको आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेका कारण मेलाको समयावधिसमेत बढाइएको छ । धनुष यज्ञ महोत्सवमा निर्माण गरिएको ५२ फिट लामो धनुष हेर्नका लागि विशेष रूपमा श्रद्धालु आउने गरेका छन् । महोत्सवमा सीताको जन्मदेखि जनकको दरबारको प्रतिमासमेत निर्माण गरिएकाकारण श्रद्धालु आउने गरेका छन् । केही महिनापूर्व जनक दरबार निर्माण गरिने परिकल्पनासमेत गरिएको थियो । सो स्थानमा जनक दरबार निर्माण गरिनेसमेत लक्ष्य राखिएको छ । केही समयपूर्व सो स्थानमा पुरातत्व विभागले उत्खननसमेत गरेको थियो भने केही पुरातात्विक वस्तुसमेत भेटिएका थिए । धनुषा यज्ञमा राजा जनकको हलो जोतेको, सीता–राम विवाहलगायतका कुरा राखिएको छ, जसले सर्वसाधारणको आकर्षण बढेको हो । मेला आयोजक समितिका कोषाध्यक्ष रामवरण यादवले जनक दरबार निर्माणका लागि यज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।