ओढारमा भेटियो १६ किलो सुन, चोरी भएको उजुरी दिने धनकमल गुरुङ आफैं फसे


अष्ट्रेलियामा लागूपदार्थ बोकेको एउटा भ्यानले प्रहरीको गाडीलाई ठक्कर दिएपछि पक्राउ परेको प्रसंग जस्तै नेपालमा पनि सुन काण्डमा नयाँ प्रकरण आएको छ । आफ्नो पैसा लुटिएको भन्दै गाउँपालिकामा पुगेका धनकमल गुरुङले अन्तत प्रहरीको फन्दामा परेर आफैंले लुकाएर राखेको सुनको विषय खोल्नु परेको छ । प्रसंग गोरखाको हो । गोरखास्थित धार्चे गाउँपालिका ३ खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद भएको हो ।

पक्राउ परेका धनकमल गुरुङले दिएको सूचनाको आधारमा प्रदेश ४ प्रहरीले उक्त सुन बरामद गर्न सफल भएको हो। प्रदेश ४ का डीआईजीपी विनोद शर्मा घिमिरेले सुन बरामद भएको पुष्टि गरेपनि यसको वास्तविकता परीक्षणपछि थाहा हुने जनाइएको छ । 

धनकमल गुरुङले उक्त ठाउँमा खाल्डोमा सुन पुरेपछि आफ्नो पैसा लुटिएको भन्दै गाउँपालिकाका अधिकारीको सम्पर्कमा पुगेका थिए। डीआईजीपी घिमिरेले भने, ‘उनी पैसा लुटिएको जानकारीसहित गाउँपालिकामा वडा अध्यक्षको सम्पर्कमा गएका रहेछन्। त्यसपछि वडाअध्यक्षले यसबारे प्रहरीमा निवेदन दिनुपर्ने र उनीहरुले नै अनुसन्धान गर्ने बताएपछि उनी सम्पर्कविहीन बनेका थिए।’

उनी सम्पर्कविहीन बनेपछि प्रदेश ४ प्रहरीले टोली खटाएर अनुसन्धान थालेको थियो। प्रहरीको अनुसन्धान सुरु भएपछि उनी भने काठमाडौं पुगिसकेका थिए। बुधबार राति पक्राउ परेका उनले नै प्रहरीलाई लुकाएको सुनको बारेमा बताएपछि प्रहरीले घटनास्थलमा पुगी सुन बरामद गरेको हो। सुन १६ पिस भएको प्रहरीले पुष्टि गरेको छ। सोही आधारमा सुन १६ किलो नै हुनसक्ने डीआईजीपी घिमिरेले बताए। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?