नेपालगञ्जको गाई सुर्खेत लैजाने काण्डका सात जना प्रहरी हिरासतमा, अनुसन्धान हुँदै
गत बिहीवार नेपालगन्जको काञ्जिहाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै गाडीमा ल्याइएका गाईहरु सुर्खेतका विभिन्न जंगलहरुमा फालेर मारेको घटनामा संलग्न सात जनालाई सुर्खेत प्रहरीले अनुसन्धानका लागि म्याद थपिएको छ ।
गाई लोड गरेर ल्याउने गाडी चालकहरु रौतहटका दामोदर के, बाँके कोहलपुरका हिमबहादुर जिसी, चितवनका विवेक कुँवर र सहचालक अछामका कृष्ण विसी, चितवनकै सागर विश्वकर्मा, शत्रुघन चौधरी र सहचालक अमृत चौधरीलाई गत शुक्रवार नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रवि रावलले पक्राउ परेका सातै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइसकिएको बताउनुभयो ।
सुर्खेत प्रहरीले गाई ल्याउँदा ढुवानीमा चरम लापरबाही भएको पाइएको जनाएको छ । सुर्खेतका कटकुवा, ब्युरेनी र झुप्राखोलाको भित्री मोडमा करिव ५० मिनेटको अवधिमा १५७ वटा गाईहरु ट्रकबाट फालिएको पाइएको छ । जसमध्ये ३५ वटा गाई मृत पाइएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । कटकुवामा १८, ब्युरेनी खोलामा आठ, सोही स्थानभन्दा केही पर ६ र झुप्राखोलाको भित्री मोडमा तीनवटा गरी कुल ३५ वटा मृत गाईगोरु फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका कुल ३५ मा गाई १९, गोरु आठ, बाच्छी पाँच र बाच्छा तीन वटा रहेको डिएसपी रावलले जानकारी दिनुभयो ।
यसैगरी नेपालगन्जबाट ल्याएका मध्ये जीवित १९६ गाईगोरुलाई ११ वटा ट्रकमा राखेर पुनः नेपालगन्ज फिर्ता पठाइएको छ । फिर्ता पठाइएकामा गाई १५१, गोरु १७, बाच्छा २५ र बाच्छी तीन वटा रहेका छन् । मृत गाईलाई नगरपालिका र सम्बन्धित वडाहरुको पहलमा व्यवस्थापन गरिएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा दैलेखको श्रीस्थान लैजाने भनिएपनि गत शुक्रवार विहान १ः३० बजेदेखि २ः२० बजेसम्म अर्थात ५० मिनेटको अवधिमा वीरेन्द्रनगर ११ को ब्युरेनी, वीरेन्द्रनगर १४ को कटकुवामा गाईहरुलाई फालिएको पाइएको जनाएको छ । पोष्टमार्टम गरिएका गाईको अन्तिम रिपोर्ट आउन बाँकी रहेको जनाउँदै प्रहरीले अझै पनि सुर्खेतका जंगलहरुमा गाईहरु छन् कि भनेर खोजतलास जारी राखिएको छ ।
यस्तै दैलेखको श्रीस्थानमा पठाइएको भनिएकोबारे प्रहरीले पनि बुझ्ने काम गरिरहेको डिएसपी रावलले बताउनुभयो । यद्यपि श्रीस्थान मन्दिर व्यवस्थापन समिति, महन्थ, दैलेख प्रशासनले भने गाई ल्याउने विषयमा आधिकारिक जानकारी नै नभएको जनाइसकेका छन् । गाईहरु ल्याउने क्रममा गम्भीर लापरबाही भएको ठहर गर्दै प्रहरीले गाडीमा कोचाकोच गरेर हालिएको हुनसक्ने जनाएको छ । सात जनालाई मुद्दा चलाएर अदालतमा म्याद थप गरेर अनुसन्धान थालिएको भन्दै प्रहरीले यसबारे थप विस्तृत अनुसन्धान जारी रहेको बताएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपन्छी सम्वन्धी कसुरको दफा २८९ ९१० नं। विपरितको कसुरमा सोही ऐन परिच्छेदको दफा २८९ ९२० नम्बर बमोजिम तीनवर्षसम्म कैद सजायको प्रावधान रहेको छ ।