विप्लवको नेतृत्वमा नयाँ पार्टी घोषणा, शान्ति सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न माग


?????????????????????नेकपा–माओवादीबाट छुट्टिएको नेत्रविक्रम चन्द समूहले प्रमुख दलहरूबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौतालाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकारमा रहेका दलहरूलाई आग्रह गरेको छ । माओवादी शक्तिलाई कम आँक्ने, राजनीतिक प्रक्रियाबाट बाहिर धकेल्ने र जनतालाई अधिकार नदिने प्रवृत्ति तत्काल त्याग्न र सहयात्रीको रूपमा व्यवहार गर्नसमेत अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादीका संयोजक चन्दले नेपाली काँग्रेसले विगतको सहमति तथा सम्झौतालाई लत्याएर आफूखुसी चल्न खोजेका कारण जनताको अधिकार संरक्षित हुन नसकेको आरोप लगाउनुभयो । उहाँले जनयुद्धको मर्म र भावनालाई लत्याइएको, गणतन्त्र र परिवर्तनको प्रक्रियालाई स्वीकार नगरेर एकलौटीरूपमा काँग्रेस र नेकपा(एमाले) चल्न खोजेको र माओवादीलाई केवल अपराधिक समूहको रूपमा मात्रै चित्रण गर्न खोजेको भन्दै सो गल्ती सच्याउन तथा सहयात्रीको व्यवहार गर्न आग्रह गर्नुभयो । आफूहरू तत्कालै सशस्त्र सङ्घर्षमा जान नचाहेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरा राज्यको व्यवहारमा भर पर्ने बताउनुभयो । संयोजक चन्दले भन्नुभयो ‘‘हामी तत्कालै हतियार उठाउने पक्षमा छैनाँै, तर जनताले अधिकार पाउनुपर्छ र विगतमा भएका सहमति र सम्झौताका आधारमा राज्यका हरेक अङ्गमा सहभागिता र सहअस्तित्वलाई आत्मसात् गरिनुपर्दछ । त्यसो हुन नसके विद्रोह गर्नुको विकल्प रहँदैन ।’’ उहाँले आफूहरूको उद्देश्य जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा अरु केही नभएको भन्दै शान्ति सम्झौतालाई खेलाँची नठान्न र त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । जनतासँग विगतमा गरेको प्रतिबद्धताबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य तथा नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरू कोही पनि भाग्न नपाउने उहाँको कथन थियो । सो पार्टीले संविधानसभा विघटन गरी सर्वपक्षीय राष्ट्रियसभाको आयोजना गर्न मागसमेत गरेको छ । विद्यमान संविधानसभाले जनताको पक्षमा संविधान दिन नसक्ने भएकाले त्यसको कुनै औचित्य नभएको र आफूहरूलाई संसदीय व्यवस्थासमेत स्वीकार्य नभएको सो पार्टीले स्पष्ट पारेको छ ।
को को छन् चन्दको पार्टीमा ?
सो पार्टीले आगामी पुस २३ गतेदेखि २६ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने र जनजीविकाको पक्षमा दबाबमूलक आन्दोलन गर्ने जनाएको छ । सो पार्टीको संयोजकमा चन्द र प्रवक्तामा खड्गबहादुर विकलाई चयन गरेको जनाइएको छ । यस्तै सो पार्टीको केन्द्रीय समितिमा धर्मेन्द्र बाँस्तोला, ईश्वरी दाहाल, चिरन पुन, पूर्व राज्यमन्त्री पदम राई, सन्तोष बुढामगर, तिलक परियारलगायत हुनुहुन्छ । आफूहरूले पार्टीलाई क्रान्तिकारी बनाउन र जनताको पक्षमा गरेको आग्रहलाई अस्वीकार गरेका कारण मोहन वैद्यले नेतृत्व गरेको पार्टीसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?