अष्ट्रेलियाको एडिलेडमा साथ ईन्द्रजात्रा मनाइँदै, तेश्रो संस्करण अझ भव्य हुने !
अष्ट्रेलियाको साउथ अष्ट्रेलियास्थित एडिलेड शहरमा ईन्द्रजात्रा मनाइने भएको छ । आगामी आईतबार १५ सेप्टेम्बरमा वर्षा र सहकालका देवराज ईन्द्रको पूजा गरी परम्परागत ईन्द्रजात्रा मनाउन लागिएको हो । आईतबार दिउसो १ बजे देखि एडवार्सटाउन म्यासोनीक हलमा गर्न लागिएको ईन्द्रजात्राबारे प्रेस सम्मेलन गरेर जानकारी दिइएको छ । प्रवेश निःशुल्क रहने ईन्द्रजात्रामा कुमारी जात्रा , लाखे , पुल्किसी ,धिमे बाजा , समयबजी, नेवारी नृत्यहरु सहित बिभिन्न मनोरञ्जनात्मक गतिविधिहरु समाबेश गरिएको आयोजक गुथी साउथ अष्ट्रेलियाले जनाएको छ ।
कार्यक्रममा बोल्दै गुथी साउथ अष्ट्रेलियाका अध्यक्ष मंगलमान बज्राचार्यले भने, “नेपालमा प्राचिन सम्पतिको रुपमा सांस्कृतिक सम्पदाहरु छन् त्यसलाई अब विश्वलाई हामीले चिनाउदै लैजानु पर्छ। नेपाल आफैमा बहुसांस्कृतिक देश हो , विश्वका अहिले धेरै बिकसित राष्ट्रहरु अस्तित्वमा नै नभएको बेला काठमाडौँमा समाजसंगै संस्कृतिक सभ्यतामा पनि अगाडी थियो तर आज हामी ति हाम्रा सम्पतिहरुको प्रचार प्रसार गर्न सकेका छैनौ , हाम्रो संस्कृति रितिरिवाजलाई साउथ अस्ट्रेलियाबासिहरु बिच चिनाउने एउटा प्रयास हुनेछ इन्द्र जात्र कार्यक्रम ।”
उक्त प्रेस सम्मेलनमा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नबिन पन्तले यस प्रकारका कार्यक्रमहरुले नेपाल भित्रका रितिरिवाजहरुको संवर्धन गर्दै नेपालको पर्यटन विकासमा टेवा पुग्नुका साथै विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताले समेत आफ्नो सांस्कृतिको बारेमा सिक्ने मौका पाउने भनाइ राखेका थिए। कार्यक्रमको मुख्य प्रयोजक ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन एडीलेड प्रमुख प्रकाश थापाले इन्द्रजात्रा कार्यक्रमको लागी शुभकामना ब्यक्त गर्दै सम्पूर्ण समुदायलाई उपस्थित हुनको लागि आग्रह गरेका थिए । उक्त प्रेस सम्मेलनमा एनआरएए आईसीसी सदस्य गोकुल घिमिरे, गुथी साउथ अस्ट्रेलिया सल्लाहाकार डा. कुश श्रेष्ठ र सामाजिक अगुवा दिपक बिष्ट लगायत उपस्थित थिए ।