शताब्दी पुरुषलाई सम्मान, मन्त्रिपरिषद्मा प्रस्ताव लगिने, नेपाली संस्कृतिमा नयाँ संस्कृतिको आरम्भ भयो–जोशी
नागरिक समाजले ९५ वर्षीय साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई सरकारको उपस्थितिमा ‘शताब्दी पुरुष’ को उपाधि दिएको छ । त्रिमूर्ति निकेतनद्वारा आफ्नो दसौँ त्रिमूर्ति दिवसका अवसरमा यहाँ आयोजित ‘सत्यमोहन जोशी महोत्सव’मा उपप्रधानमन्त्री वामदेव गौतम र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संयुक्त रूपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र प्रदान गरी उहाँलाई सम्मान गर्नुभयो । महोत्सवका समिति २१ देशमा पनि गठन गरिएको छ । सो अवसरमा ‘शताब्दी पुरुष’ जोशीलाई रु पाँच लाख राशि पनि अर्पण गरियो । ‘शताब्दी पुरुष’सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पनि लगिने भएको छ । सो अवसरमा जोशीलाई २४ मुलुक र नेपालका १४ अञ्चलबाट गरी १०१ अभिनन्दनपत्र पनि प्रदान गरियो । दुबोको माला पहि¥याइनुभएका जोशी समारोहमा दुलहा जस्तै देखिनुहुन्थ्यो । जोशीले नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखन तथा अनेकौं सङ्घसंस्थाको सञ्चालन, निर्देशन र नेतृत्व गर्नुभएको छ । उहाँ नेपाल भाषा एकेडेमीका कुलपति तथा नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य पनि हुनुहुन्छ । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् । उहाँले नै संस्थागत रूपमा सहभागी भई पहिलो चोटि कर्णाली अञ्चलका साहित्य र संस्कृतिलाई उजागर गर्नाका साथै कलाकार अरनिकोलाई राष्ट्रियस्तरमा चिनाउन योगदान दिनुभएको थियो । प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको देश न्युजिल्यान्ड पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । विसं १९७७ वैशाख ३० गते ललितपुरमा जन्मनुभएका जोशीको बुढ्यौली उमेरमा पनि स्वस्थ्य भई ठमठम हिँड्ने र विभिन्न सभासमारोहमा सहभागी हुने स्वभाव छ । सो अवसरमा उपप्रधानमन्त्री गौतमले ‘शताब्दी पुरुष’ डा जोशीलाई सरकारले पनि सम्मान गर्नुपर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा आफूले लैजाने जानकारी दिनुभयो । नेपालका जातजातिबाट माथि उठी सिँगो नेपालीको परिचय बनाउनुभएका जोशीमा एक्लैले नै नेपाल र नेपालीकै परिचय दिने व्यक्तित्व भएको उहाँले बताउनुभयो । साहित्यकार मोदनाथ प्रश्रितले उहाँको स्वास्थ्य, सक्रियता, पैदलयात्रामा रमाउने स्वभाव तथा भाषा–साहित्य–संस्कृतिमा गरिरहनुभएको नेतृत्वप्रति सम्मान दिँदै वाङ्मय क्षेत्रले आफ्नो पाँच वर्ष आयु थप गरी उहाँलाई शतायु सम्मान दिएको छ भन्नुभयो । शताब्दी महोत्सवका संयोजक प्रा डा उषा ठाकुर, प्रा गार्गी शर्मा, साहित्यकार उषा शेरचन र यादव भट्टराईले ‘एक्ला ध्रुवतारा’, ‘महामानव’ ‘युगपुरुष’ जोशीको सम्मान शताब्दीकै उत्कृष्ट कर्म हो भन्नुभयो । बालकृष्ण फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठले प्रज्ञाप्रतिष्ठानमा रहँदा जोशीले नाट्यकर्मीलाई आर्थिक प्रोत्साहन दिएको जानकारी दिनुभयो । निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आफूले दश वर्षदेखि सुरु गरेको जोशीको जीवनी आगामी जन्मोत्सवका दिन वैशाख ३० गते विमोचन गरिने जानकारी दिनुभयो । सम्मानपछि प्रत्युत्तर दिँदै शताब्दी पुरुष जोशीले शताब्दी पुरुषको घोषणाले नेपाली संस्कृतिमा नयाँ संस्कृतिको जन्म भएको बताउनुभयो । “म निकै हर्षित छु, यसको सम्पूर्ण श्रेय भाषा, साहित्य र संस्कृतिसेवीहरूलाई जान्छ, अब शब्दकोशमा पनि नयाँ शब्द प्रविष्ट हुने भयो ।” उहाँले भन्नुभयो ।