भ्रष्टाचार गर्ने टेलिकमका अधिकृतलाई आठ वर्ष कैद र झण्डै दुई करोड जरिवाना
विशेष अदालतले राजस्व हिनामिना गरेका नेपाल टेलिकम विराटनगर शाखका सहायक प्रशासकीय अधिकृत प्रदीपकुमार नकर्मीलाई रु एक करोड ८४ लाख ५० हजार ०६८ जरिवाना र आठ वर्ष कैद गर्ने फैसला गरेको छ । नगद शाखा (क्यास फाँट)मा कार्यरत सहायक अधिकृत नकर्मीले राजस्व जम्मा भएको रकम टेलिकमको नाममा बैंक दाखिला नगरी हिनामिना गरेकाले अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलासले आज सो फैसला गरेको हो । सोही आरोपमा मुछिएका अर्का सहायक कर्मचारी इमु श्रेष्ठ (नकर्मी)लाई भने सफाइ दिइएको छ । सहायक अधिकृत नकर्मीले यसअघि रु ३९ लाख ३७ हजार रकम बुझाइसकेकाले बिगो बराबरको बाँकी रू एक करोड ४५ लाख १३ हजार ०६८ भराउनुपर्ने ठहर गरिएको छ । राजस्व दाखिला गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०६९ असोज ४ मा उक्त अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।