निर्धारित मितिमा संविधाान आउनेमा राणाको आशंका, ठूला दलले समाधानको पहल गर्नुपर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले निर्धारित समयमा संविधान जारी हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले यहाँ आयोजना गरेको काठमाडौँ उपत्यका भेलामा अध्यक्ष राणाले सहमतिका नाममा ठूला दलले समय खेर फाल्नाले संविधान निर्माणमा समेत अवरोध पुगेको बताउनुभयो । उहाँले अहिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारले सो क्षेत्रमा ठूलो विभेद सिर्जना गरेको बताउँदै विद्यार्थी सङ्गठनले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । सो पार्टीका विद्यार्थी सङ्गठन प्रमुख बुद्धिमान तामाडले मुलुकका देखिएका समस्या समाधान गर्न युवा शक्ति क्रियाशील हुनुपर्ने बताउनुभयो । विद्यार्थी नेता दीपक राई, सपना लामालगायतले मुलुकमा व्यावसायिक तथा रोजगारीमूलक शिक्षा लागू गर्न नसक्दा अहिले ठूलो जनशक्ति बिदेसिन परेकामा चिन्ता व्यक्त गर्दै शिक्षा नीतिमा आवश्यक संशोधन गर्न माग गर्नुभयो । भेलामा उपत्यकाका विभिन्न शैक्षिक संस्थाबाट करिब ५०० जनाको सहभागिता छ ।