अष्ट्रेलियासँग भिड्दै नेपालको राष्ट्रिय फुटबल टोली, क्यानबेरामा नेपालको झण्डा फरर
आज अष्ट्रेलियाको राजधानी क्यानबेरामा विश्वकप छनोट चरण अन्तर्गत नेपाल र अष्ट्रेलियाबीच फुटबल खेल हुँदैछ । यो खेलमा सहभागी हुन नेपालबाट ३२ सदस्यीय टोली अष्ट्रेलियामा छ । नेपाली स्टार फुटबल खेलाडीहरुको बर्चश्व रहेको राष्ट्रिय टिम र अष्ट्रेलियाको विश्वकप खेलिसकेको टोलीबीच हुने खेल हेर्नका लागि हजारौं दर्शक क्यानबेरामा पुग्दैछन् । साँझ ६ बजेदेखि जीओ स्टेडियमको ढोका खुल्नेछ भने ८ बजेबाट खेल सुरु हुनेछ । अनौपचारिक जानकारी अनुसार ६ हजारभन्दा बढी नेपालीहरुले प्रतियोगिताको टिकट किनेका छन् । यस्तै स्थानीय अष्ट्रेलियनहरु पनि खेल हेर्न आउनेछन् । कूल २५ हजार दर्शक क्षमताको स्टेडियम नभरिए पनि नेपालीहरुको उल्लेख्य उपस्थिति हुने भने पक्का भएको छ । यससँगै अष्ट्रेलियाका राष्ट्रिय टेलिभिजनहरुले पनि यसको प्रत्यक्ष प्रशारण गर्नेछन् । सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड लगायतका शहरबाट नेपाली दर्शक क्यानबेरामा पुगेका छन् । नेपाली झण्डा फहराउँदै सडक मार्गबाट पुगेका नेपालीहरुले सामाजिक सञ्जलमा देशको निम्ति विजयको कामना गरिरहेका छन् । अष्ट्रेलियामा नेपाली फुटबलका एक हस्ती राजु मानन्धर यो अविस्मरणीय दिन भएको बताउँछन् । उनी सिड्नीबाट क्यानबेरा यही प्रतियागिता हेर्न पुग्दैछन् । यस्तै नेपाली दूतावासले यो अवसरलाई पर्यटन प्रबद्र्धनमा उपयोग गर्ने बताएको छ भने दूतावसले नै भोलि खेल पछि खेलाडीहरुलाई बिदाई कार्यक्रम आयोजना गरेको छ । भोलि विहान ११ बजे पत्रकार सम्मेलन गरिनेछ ।