एनआरएन चुनाव : २३ सय ४० मत खस्यो, मतगणना गर्ने तयारी !
गैरआवासीय नेपाली संघको निर्वाचनमा २३ सय ४० मत खसेको छ । कूल २५ सय ७० मतदातामध्ये करिब २ सय ३० मतदानको बेला अनुपस्थित थिए । प्राविधिक गडबडीका कारण भन्दै हिजो साँझ मतदान स्थगित गरिएको थियो । आज विहान १० बजेबाट सुरु भएको मतदान तीन बजेसम्म तोकिएपनि पानी परेका कारण ५ बजेसम्मलाई समय थपिएको थियो ।
एनआरएनको निर्वाचन गराउन खटिएका प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद रिजालले एमएनटीभीसँग कुरा गर्दै भने, “शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । हामी कतिबेला कसरी मतगणना गर्ने भन्ने विषयमा छलफल गर्छौं र त्यसपछि मतगणना सुरु गरिहाल्ने तयारी छ ।” कूल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेद्वारी दिएका थिए । त्यसमध्ये केही पदमा निर्विरोध समेत भयो । अध्यक्ष पदमा दुईजनाको मात्र उम्मेद्वारी परेको थियो भने सबैभन्दा बढी उम्मेद्वार उपाध्यक्ष पदमा देखिन्थे । कूल ४ पदका लागि ९ जनाको उम्मेद्वारी थियो ।
खसेको मतमध्ये अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २ सय ११ मत खसेको छ भने अफ्रिकाबाट १६ मत, एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, युरोपबाट ९ सय २० र अमेरिकाज क्षेत्रबाट २ सय ६१ मत खसेको थियो । निर्वाचनका कारण अधिवेशनको समय लम्बिएपछि निर्धारित समापन समारोह स्थगित गरिएको छ । यद्यपि आधिकारिक रुपमा कुनैपनि एनआरएन पदाधिकारीले बोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको थियो ।
उम्मेद्वारी दिनका लागि महँगो शुल्क लिएको भन्दै केही उम्मेद्वारले आपत्ति जनाएका थिए । अध्यक्ष पदका लागि १० लाख शुल्क तोकिएको थियो भने अन्य पदमा पनि महँगो नै शुल्क देखिन्थ्यो । एनआरएनको आर्थिक प्रतिवेदन यस अधिवेशनबाट अस्वीकृत भएको छ । एक महिनाभित्र विशेष अधिवेशन गरी पारित गर्ने तयारी छ ।